site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेल भन्छन्– आदिकवि भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक हुन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्य नेपाली राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् । भानुभक्तको २१० औं जन्मजयन्तीको अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको बताएका छन् । 

उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा  भानुभक्तको योगदान अतुलनीय रहेको बताएका छन् । भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रूपमा समुन्नत तुल्याएको पनि उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आदिकवि भानुभक्तले अत्यन्त सरल र रोचक ढंगले   नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढंगले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक  एकता अभिवृद्धि भएको छ । भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्वपूर्ण रचना हो,” पौडेलले सन्देशमा भनेका छन्, “नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायमाझ सिर्जनाको महत्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन आह्वान पनि गर्दछु ।” 

भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई पनि सम्झन आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका छन् । उक्त स्थललाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न सकेमा उनीप्रतिसच्चा श्रद्धाञ्जली हुने उनको धारणा छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्