site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्षेप्यास्त्रको उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन
फाइल तस्बिर ।

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिएका छन् । आउँदो हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला उनले यस्तो निर्देशन दिएका हुन् ।

किमले गएको हप्ता एक महत्त्वपूर्ण सैन्य बैठकमा युद्धको तयारीलाई तीव्रता दिन आह्वान गरेपछि शुक्रबारदेखि शनिबारसम्म यी हतियार कारखाना (प्लान्ट)हरूको भ्रमण गरिएको हो ।

कोरियाली केन्द्रीय समाचार संस्था केसीएनएका अनुसार किमले दुई दिनसम्म गरेको निरीक्षणमा सामरिक क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना, ठूलो क्यालिबर कन्ट्रोल मल्टिपल रकेट लन्चर सेलका साथै बख्तरबन्द लडाकु गाडी निर्माण गर्ने प्लान्टको भ्रमण पनि समावेश थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रणनीतिक क्षेप्यास्त्र प्लान्ट भ्रमणका क्रममा किमले प्लान्टले हतियारको आधुनिकीकरणलाई अघि बढाएकामा सन्तुष्टि व्यक्त गरेका थिए ।

केसीएनएका अनुसार उनले विद्यमान क्षेप्यास्त्र उत्पादन क्षमतामा व्यापक वृद्धि गर्ने महत्त्वपूर्ण लक्ष्य राख्दै युद्धको तयारीलाई तीव्रता दिन कारखानाको भूमिकामाथि जोड दिएका थिए ।

किमले गोलाबारुदको उत्पादनमा वृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिएको र उनी आफैँले बख्तरबन्द लडाकुवाहन चलाएको तस्बिर समेत सार्वजनिक गरिएको छ ।

सरकारी रोडोङ सिनमुन पत्रिकाले सार्वजनिक गरेको तस्बिरमा किम उत्तर कोरियाद्वारा ‘हालै विकसित युटिलिटी कम्ब्याट बख्तरबन्द गाडी’को चालकको सिटमा बसिरहेको देखिन्छ ।

किमले ट्रान्सपोर्टर इरेक्टर लन्चर उत्पादन गर्ने कारखानाको पनि निरीक्षण गरेका थिए ।

“उत्तर कोरियाली सेनासँग ‘ठूलो सैन्य बल’ हुनुपर्छ र शत्रुविरुद्ध कुनै पनि समयमा कुनै पनि युद्धको सामना गर्न पूर्ण रूपमा तयार हुनुपर्छ,” किमलाई उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ ।

यदि, शत्रुले आक्रमण गरे उत्तर कोरियाले उनीहरूमाथि धावा बोल्ने हैसियत रहनुपर्ने किमले बताएको सिनमुनले समाचारमा उल्लेख गरेको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अगस्ट २१ देखि अगस्ट ३१ सम्म हुने वार्षिक उल्ची फ्रिडम शिल्ड (यूएफएस) अभ्यासको तयारी गरिरहेका बेला यो निरीक्षण गरिएको हो । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्