site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मती नदीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौं । र्‍याफ्टिङ प्रवर्द्धन गर्ने तथा वाग्मती नदीलाई स्वच्छ राख्ने उद्देश्यले वाग्मतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आउँदो शनिबार एक दिने र्‍याफ्टिङ हुन लागेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा हामी सँगसँगै सहकार्य गरौं भन्ने नारा लिएर ऐतिहासिक वाग्मती नदीमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिएको हो ।  गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि सुरु भएको र्‍याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।

जिल्ला समन्वयन समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित दश वटै स्थानीय निकायले वाग्मती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए ।

कुल ४५ वटा डुंगाले सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ । प्रत्येक डुंगामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी ६ जना हुने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

बिहान ७ः३० देखि सुरु भएको यात्रा साँझ ५ः३० सम्म सञ्चालनमा हुनेछ । यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म आठ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ ।

त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर र्‍याफ्टिङ हुनेछ । सोही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिनेछ ।

त्यस्तै, अन्तिम चेक पोइन्ट एल्लो ब्रिजदेखि आठ किलोमिटरको यात्रा चोभारमा गएर टुंगिने आयोजकले जनाएको छ । यो अभियानबाट वाग्मती नदीमा पनि र्‍याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदुषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।   

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्