site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदन खुला, प्रतिकित्ता ५० रुपैयाँ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता मूल्य ५० रुपैयाँका दरले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेको थियो । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँबराबरका २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीले जारी पुँजी एक अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता ५० रुपैयाँअंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि एक करोड ४६ लाख २५ हजार रुपैयाँबराबरका दुई लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २९ लाख २५ हजार रुपैयाँबराबरका ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँबराबरका एक लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम २० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र मागानुसार आवेदन नपरेमा निष्कासन अवधि असोज ४ गतेसम्म लम्बिने बताइएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरोसेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्