site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
फरार माओवादी नेता  बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं । हत्या अभियोगमा फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेल पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए । उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको हो ।

हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको ठहर गरेका नेता ढुंगेललाई यसअघि नै पक्राउ गर्ने प्रयास गरिएको भए पनि प्रहरीलाई  उच्च दबाबका कारण पक्राउ गर्न सकेको थिएन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा नै जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।

ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि सर्वोच्चले ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश समेत दिएको थियो ।
त्यसपछि प्रहरीले ढुंगेलको खोजी तीव्र बनाएको प्रहरी स्रोतले जानकारी दियो । 

प्रहरी उच्च स्रोतकाअनुसार पछिल्लोपटक एकसातादेखि सादा पोशाकका प्रहरी ढुंगेलको खोजीमा थिए ।

ओखलढुंगाका उज्जन श्रेष्ठको २०५५ सालमा हत्या भएको थियो । माओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई पक्राउ नगर्न यसअघि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै दबाब दिएका थिए ।

ढुंगेललाई भन्दा पहिले आफूलाई पक्राउ गर्न दाहालले सार्वजनिक चेतावनी समेत दिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १२:०१
प्रतिक्रिया दिनुहोस्