site stats
बाह्रखरी :: Baahrakhari
देश
राहुल महराको बयान– भेप छुटाउन त्रिवि भन्सारमा गएका हौँ, तर फिर्ता गर्न मानेनन्

काठमाडौं । भेपबाट भएको नौ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय पुगेको छ । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिवेदन सरकारी वकिलको कार्यालय पेस गरेको हो ।

सीआईबीले भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुल महरासहित लोकेन्द्र पौडेल र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ । राहुल १३ भदौदेखि सीआईबीको नियन्त्रणमा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तो छ राहुलको बयान

म २०१२ मा चीनको छन्दु भन्ने स्थानमा चिनियाँ भाषा अध्ययन गर्नका लागि चीनमा गएको समयमा चिनियाँ नागरिक दाओजिङ वाङ सँग मेरो चिनजान भएको हो । निज वाङले चीनबाट विभिन्न प्रकारका फलफूलहरू नेपालमा आयात गरी बिक्री गर्ने काम गरिरहेको छु भनेका थिए । ६ महिना चीनमा चिनियाँ भाषा अध्ययन गरेर नेपाल फर्केर आएको हो । त्यसपछि निज वाङसँग मेरो बेलाबेला कुरा हुँदै आएको थियो ।

मलाई हाल यकिन याद भएन, निज वाङले मलाई निजको मोबाइल नम्बर ९८०१०९*** मेरो मोबाइल ९८५१११*** मा कल गरी मेरो साथीको इलेक्ट्रिक सिगरेट भेप त्रिवि भन्सारमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ मिल्दैन सोधिदिनु पर्‍यो भनी मलाई अनुरोध गरेको कारण मैले भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरी भेप भन्सारमा रोकिए छ, के भएर रोकिएको हो भनी सोधपुछ गर्दा निजले उक्त भेप जफत भएको छ, भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन । यो लिलामी प्रक्रियामा अगाडि बढ्छ भनी भनेका थिए ।

त्यसपछि पनि वाङले मलाई पटक–पटक फोन गरी भेपबारे के भइरहेको छ भनी सोधपुछ गर्ने गरेका थिए । करिब दुई हप्ता पछि निज वाङले मलाई तपाईं आफैँ भन्सार गएर बुझिदिनु पर्‍यो भनेकाले म भन्सार जाँदा मैले चिनेका वाङ र मैले नचिनेका वाङका गाडी चालक लोकेन्द्र पौडेल र तिब्बती जस्तो देखिने नेपाली बोल्न नजान्ने एकजना गरी तीनजना भन्सार प्रमुख अरूण पोखरेलको कार्यकक्षमा गएको हो । निज पोखरेलसँग भेटपछि भेप जफत भएकाले फिर्ता हुँदैन भन्ने जवाफ पाएका हौँ ।

 

१० पुुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा ९ किलो सुन लुकाएर ल्याएका थिए । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्