site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अस्थिरता ल्याउने शक्तिविरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छ : अध्यक्ष नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा आयोजित प्रशिक्षणको उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, २०७२ र विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन एकीकृत समाजवादी तयार रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य नहुने उनले उल्लेख गरे । अध्यक्ष नेपालले भने, “संविधान र गणतन्त्रका पक्षमा हामी जनतामाझ जान्छौँ । हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौँ ।”

उनले आफ्नो चीन भ्रमणबारे जानकारी पनि गराए । अध्यक्ष नेपालले चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति उपलब्ध गराएको सहयोग प्राप्त गर्नमा आफ्नो पार्टीको भूमिका रहेको दाबी गरे ।

उनले चीन सरकारले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रशंसा गरे । त्यसमा नेपालको सहभागिताका निम्ति कुनै हिच्किचाहट हुनुपर्ने कारण नभएको उनले बताए ।

उनले भने, “कतिपयले नेपाल बीआरआईमा सहभागी नहोस् भन्ने चाहेका छन्, तर म अनुरोध गर्न चाहन्छु– हामीलाई जसले सहयोग गर्न चाहन्छ, त्यस्तो सहयोग लिन तयार हुनुपर्छ ।”

अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानमा अलिकति पनि आँच नआउने गरी कुनै पनि देशले गर्ने सहयोग स्वीकार्नुपर्ने बताए । उनले भने, “पारस्परिक हितका आधारमा सहयोग लिनुपर्छ ।” रासस

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्