site stats
बाह्रखरी :: Baahrakhari
खेल
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भेटवार्ता भएको छ । 

राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डललाई सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् । भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको यू–२१ पुरुष फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यावसायीक र यसु फुटबल टिमको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । महोत्सवका अवसरमा साँस्कृतिक आदान–प्रदानलगायत विविध कार्यक्रम पनि हुनेछ ।

चिनियाँ पक्षले फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन् । साथै टोलीले दशरथ रंगशालाको पनि अवलोकन गरेको छ । सदस्य–सचिवले टोलीको प्रस्तावमा आफू सकारात्मक रहेको बताउँदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम चिनियाँ राजदूतावासको आयोजनामा हुन लागेको हो ।

भेटका अवसरमा दूतावासका प्रहरी सम्पर्क अधिकारी चेन हान, ओभरसिज चाइनिज एसोसिएसन अफ नेपालका अध्यक्ष जिन छियोदोङ, उपाध्यक्ष गु यिङमिन, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, सामान्य प्रशासन शाखाकी प्रमुख शारदा दाहाल लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्