site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रदीप, आर्यन र पलमध्ये को हिरो को भिलेन ? 

काठमाडौं । निर्देशक दिनेश राउत नयाँ चलचित्र ‘पूजार सार्की’ निर्माणको तयारीमा छन् । एक महिनापछि छायांकनमा जाने चलचित्रको यही पुस १५ गतेबाट वर्कसप हुँदै छ । अहिले निर्माण पक्षले चलचित्रको गीत रेकर्डिङ गराइरहेको छ । 

चलचित्रका लागि उनले प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहलाई अनुबन्ध गराइसकेका छन् । अञ्जना बराइली र परीक्षा लिम्बू पनि अनुबन्ध भइसकेका छन् । 

एउटै चलचित्रमा यति धेरै स्टार किन ? निर्देशक राउत भन्छन्, “स्टार लिएको भन्दा पनि कथाले मागेका पात्र चलचित्रमा अनुबन्ध गरिएको हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘पूजार सार्की’ तीनजना व्यक्तिको संघर्षको कथा भएको र तिनै तीन पात्रमा प्रदीप, आर्यन र पल अनुबन्ध भएको उनी बताउँछन् । 

“पूजार सार्की तीनवटा पात्रको कथा हो । तीनैजनाको आ–आफ्नै कथा छ । तीनैजना पात्र एउटै मुद्दामा लड्छन्,” निर्देशक दिनेश भन्छन्, “त्यसैले यी कलाकारलाई एउटै सिनेमामा अनुबन्ध गरिएको हो ।” 

एउटै सिनेमामा तीनजना स्टार कलाकार आवद्ध हुँदा राम्रो सन्देश पनि जाने उनको जिकिर छ । नेपाली सिनेमा उद्योगमा कलार मिलेर काम गर्न सक्दैनन् भन्ने हल्ला छ, त्यसलाई चिर्न पनि यसले सहयोग गर्ने उनी बताउँछन् । “वास्तवमा नेपाली उद्योग आफैँमा सानो छ, थोरै मेकर र थोरै कलाकार छन् । भएका कलाकार पनि आपसमा मिल्दैनन् भन्ने आरोप छ,” उनी अगाडि थप्छन्, “तर मेकरले चाह्यो भने मिलेर काम गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश जाओस भन्ने पनि हो ।” 

यद्यपि, योसँगै कमर्सियल भ्यालुलाई पनि आफूले नकार्न नसक्ने उनको भनाइ छ । “तीनजना कलाकार नै स्टार भएकाले उनीहरूको आआफ्नै फ्यान फलोइङ छ, त्यसले निश्चय पनि कमर्सियल पाटो पनि जोडिन्छ,” दिनेश भन्छन् । 

‘पूजार सार्की’को हिरो को हो प्रदीप, आर्यन र पलमध्ये ? “सबै प्रोटागोनिष्ट हो । सबैको आआफ्नै कथा छ । त्यसैले को हिरो भन्ने नै छैन,” जवाफमा दिनेश भन्छन् । 

कथा समानान्तर हिसावले अगाडि बढे पनि स्क्रिन टाइमका आधारमा पनि यो मुख्य पात्र अथवा हिरो भनेर छुट्याउन सकिँदैन ? “स्क्रिन टाइमभन्दा पनि कसको रोल कति महत्वको छ भन्ने कुराले अर्थ राख्छ,” दिनेश अगाडि जवाफमा भन्छन् । 

आफ्नो चलचित्रमा एन्टागोनिष्ट (भिलेन) पनि कोही नरहेको उनी स्पष्ट पार्छन् । भन्छन्, “समाज नै मेरो सिनेमाको एन्टागोनिष्ट हो ।”

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्