site stats
बाह्रखरी :: Baahrakhari
कला
भुवन केसीको प्रश्न– ‘ब्ल्याक एन्ड ह्वाइट’ जमानाको ऐनमा बसेर कसरी काम गर्नु ? 

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘ब्ल्याक एन्ड ह्वाइट’ जमानाको चलचित्र ऐनमा बसेर काम गरिरहनु परेको बताएका छन् । 

पुरानो ऐन, कानुन तथा नियममा बसेर काम गर्नुपर्दा बोर्डले धेरै काम गर्न नसकेको उनको गुनासो छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विकास बोर्डमा पुग्दा मेरा पनि थुप्रै सपना थिए । यस्तो गरौँला, त्यस्तो गरौँला भन्ने थियो,” नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलले आज आयोजना गरेको कार्यक्रममा उनले भने, “म बोर्डमा नपुग्दा अध्यक्षज्यू यसो गर्नुपर्‍यो, त्यसो गर्नुपर्‍यो, किन भएन भन्थेँ । तर, बोर्डमा पुगेपछि बल्ल थाहा पाएँ ।” 

पुरानै नीति नियममा बसेर काम गर्नुपर्दा अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ छ । नयाँ नीति नियम बनाउँदै काम गर्नु परेकाले धेरै काम हुन नसकेको उनले बताए । बोर्डको काम नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउनु भए पनि कानुुन बाधक भएको उनले स्पष्ट पारे । नेपाली चलचित्र विदेशी लगानी भित्र्याउन कानुन बाधक रहेको उनले बताए । चलचित्रमा विदेशी लगानी ल्याउन सके नेपाली चलचित्र राम्रो बन्ने उनी बताउँछन् ।

“पैसा हुँदैमा चलचित्र राम्रो बन्छ भन्ने होइन । तर एउटा पक्ष बजेट पनि हो । विदेशी लगानी चलचित्रमा भित्र्याउन सके पक्कै लगानी बढ्ने थियो,” भुवन भन्छन्, “अहिले हाम्रो तीन करोडमा बनेको सिनेमाले ५०० करोडमा बनेको सिनेमासँग प्रतिस्पर्धा गर्नु परिरहेको छ, हाम्रो प्रोडुसरले यस्तो अवस्थामा पनि काम गरिरहनु भएको छ, उहाँहरूलाई म सम्मान गर्न चाहन्छु ।” 

नेपाली चलचित्रमा सम्भव भए सतप्रतिशत नभए ५० प्रतिशत विदेशीले लगानी गर्नसक्ने व्यवस्था गर्ने कानुनका लागि पहल गरिरहेको उनले जानकारी दिए । चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन नसके यसको आवश्यकतामाथि छलफल गर्न सकिने भुवन बताउँछन् । 

“नीर शाहले बोर्ड आवश्यक छ कि छैन भनेर भनिरहनु भएको छ । कतिले बोर्ड खारेज गरे हुन्छ भन्नु भएको छ । बोर्ड स्वायत्त हुँदैन भने यसबारे पनि छलफल चलाउन सकिन्छ ।”

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्