site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेशी सेनामा प्रवेशपछि सिर्जित अवस्थाबारे व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने

काठमाडौं । सरकारले भारत र बेलायतबाहेक अन्य देशका सेनामा प्रवेश गरेपछि सिर्जित हुने अवस्थाबारे व्यक्ति स्वयं जिम्मेवार हुने बताएको छ । गृह मन्त्रालयले मंगलबार जारी गरेको भिजिट भिसामा यात्राका लागि नयाँ कार्यविधि र १३ बुँदे यात्रा परामर्श सूचनामा उक्त कुरा उल्लेख छ ।

भिजिट भिसामा रुस गई त्यहाँको सेनामा भर्ती हुने नेपालीको संख्या बढेपछि सरकारले यो कुरालाई सम्बोधन गर्न परामर्श सूचना जारी गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रुसी सेनामा भर्ती भएका एक दर्जनभन्दा बढी नेपाली युवाको युक्रेनसँगको युद्धमा मृत्यु भइसकेको र उनीहरूको शव ल्याउनसमेत नसकेपछि सरकारले नयाँ कार्यविधि र परामर्श सूचनामा कडाइ गरेको हो ।

“भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेस गर्ने,  झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्देश्य अनुरूप मात्र कार्य गरी आफूलाई पूर्णरूपमा सुरक्षित राख्न थप सजगता अपनाउनुहोस्,” परामर्श सूचनामा भनिएको छ ।

भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको गुनासो बढेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको सक्रियतामा नयाँ कार्यविधि र परामर्श सूचना जारी गरिएको हो । गृहले ६ बुँदे नयाँ कार्यविधि र १३ बुँदे परामर्श सूचना जारी गरेको छ ।

“विदेश यात्रा गर्दै हुनुहुन्छ भने नेपालको विमानस्थलहरूबाट मात्र यात्रा गर्नुहोस् । भारत वा अन्य तेस्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्दै हुनुहुन्छ भने नेपाली राजदूतावासबाट जारी हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्ने तथा महिलाहरूको हकमा भारतका विमानस्थल भएर तेस्रो मुलुक यात्रा गर्दै हुनुहुन्छ भने थप सजगता एवम् सावधानी अपनाउनुहोस्,” गृहले भनेको छ । 

गृहले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी नगर्न पनि सुझाव दिएको छ । भिजिट र पर्यटक भिसामा विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने गृहले जनाएको छ ।

“तसर्थ, भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाँदै हुनुहुन्छ भने आफन्त भेटने र घुम्ने लगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्नुहोस् र भिसाको अवधिभित्रै स्वदेश फर्कनुहोस्,” गृहले भनेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्