site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले धादिङ विवाद मिलाउने प्रयास, भोलिदेखि अधिवेशन सञ्चालन गर्ने तयारी

काठमाडौं । नेकपा (एमाले)को धादिङ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवाद मिलाउने प्रयास गरिएको छ । विवाद मिलाउन केन्द्रबाटै पहलकदमी लिइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनसँग सम्बन्धित दुवै पक्षलाई बालकोटमा बोलाएर छलफल गरेका थिए । छलफलपछि विवाद समाधानका निम्ति उनले संगठन विभागलाई निर्देशन दिएको एमाले वाग्मती प्रदेश कमिटीका सचिव नवराज सिलवालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेश इन्चार्ज गुरु बराल, वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, सचिव सिलवाल, धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठी, धादिङ अधिवेशनका अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटालगायत नेता बालकोट पुगेका थिए । त्यसक्रममा अधिवेशन पुनः सञ्चालन गर्न पार्टीको केन्द्रीय संगठन विभागबाट दुई प्रतिनिधि धादिङमा पठाउने निर्णय भएको छ । केन्द्रबाट दुई प्रतिनिधि गई वस्तुस्थिति बुझेर विवाद समाधान गर्दै भोलि (मंगलबार) अधिवेशनको बन्दसत्र अगाडि बढाउने तयारी छ ।

अध्यक्ष ओलीको सो निर्देशनपछि संगठन विभागका पदाधिकारीसित आफूहरूको छलफल हुन लागेको सिलवालले जानकारी दिए । छलफलबाट धादिङमा जाने दुई प्रतिनिधिको नाम टुंगो लगाइने उनले बताए ।

“विवाद समाधान गरेर भोलिदेखि अधिवेशन सुचारु गर्ने निर्णय भएको छ,” उनले बाह्रखरीसित भने, “आज संगठन विभागले धादिङ पठाइने दुई प्रतिनिधिको छनोट गर्नेछ । त्यसका लागि हामी छलफल गर्दै छौँ ।”

यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि आज बिहान ८ बजेसम्मका निम्ति बैठक स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्