site stats
बाह्रखरी :: Baahrakhari
देश
जन्मदिनमा शिक्षकलाई विद्यार्थीको सरप्राइज उपहार ! जसले तताइरहेछ सामाजिक सञ्जाल 

काठमाडौं । समन गुरुङ र उनका साथीहरूलाई लाग्यो आज त विशेष दिन हो, यसलाई थप विशेष बनाउनुपर्छ । 

तर, कसरी ? 

३७ जनाको दिमाग, न्यूनतम ३७ वटा आइडिया त आउने नै भयो । भलै कसैको राम्रो होला, कसैको ठीकै मात्रै । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कसले के भने कसले के । अन्ततः निष्कर्ष निस्कियो प्र्यांकको । 

पोखराको गण्डकी बोर्डिङ स्कुल आफैँमा अनुशासनमा कहलिएको स्कुल, त्यसमा पनि कक्षा १२ । 

विद्यार्थीलाई मोबाइल बोक्न प्रतिबन्ध थियो । नियम त मान्नै पर्‍यो । नियम माने त प्र्यांक नै नहुने भयो । सबैको सहमतिको निष्कर्ष त फेल हुने भयो । 

त्यसो भए के गर्ने ? 

स्पेसल डे हो, स्पेसल त गर्नैपर्‍यो । सधैँ होइन, एक दिनलाई हो । स्कुल प्रशासनले किन भनेर कड्कियो भने यथार्थ बताइदिउँला । कसो नउम्किउँला र ? 

अनि निर्णय भने झोलामा मोबाइल लुकाएर कक्षामा छिर्ने ।

अनि ? 

त्यो दिन १२ कक्षाको सेक्सन ‘बी’ का विद्यार्थी अरू दिनभन्दा सबेरै कक्षा कोठामा भेला भए । 

कसको के जिम्मेवारी ? बाँटफाँट भइसकेको थियो । समन र अर्का एक विद्यार्थी दौडिदै अफिस रूमतिर लागे । सुजन लम्साल कक्षा १२ सेक्सन ‘बी’ का क्लास टिचर कक्षातिरै आइरहेका रहेछन् । 

“हामीले सरलाई क्लासमा आउँदै गरेको देख्यौं । दौडिएर सरको नजिक पुगेर सर क्लासमा फाइट भइरहेको छ, चाँडो जाऔँ न भन्यौँ,” समन गुरुङले बाह्रखरीसँग भन्छन्, “आत्तिएको नाटक गरेर छिटो जाउँ सर छिटो जाउँ भनिरह्यौँ । हामीले आत्तिएको नाटक गरेर छिटो जाउँ सर छिटो भनेपछि सर पनि आत्तिएर दौडिनुभयो । हामी सरको पछिपछि दौडियौँ ।” 

जसको भागमा झगडाको नाटक गर्ने जिम्मेवारी परेको थियो । उनीहरू झगडाको नाटक गरिरहेका थिए । झगडा गर्नेलाई विद्यार्थीले घेरेका थिए । अरु विद्यार्थी झगडा छुट्याएजस्तो गरिरहेका थिए ।

“सर दौडिएर झगडा छुट्याउन जानुभयो । विद्यार्थीको भीड पन्साएर भित्र पुग्दा सरलाई साथीहरूले बुके दिएर भने ह्यापी बर्थ डे टु यू सर !,” समन भन्छन्, “त्यसपछि हामी सबैले एकै स्वरमा सरलाई बर्थ डे विस गर्‍यौँ ।” 

विद्यार्थीले शिक्षकलाई यसरी सरप्राइज दिएर जन्मदिन मनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । शिक्षकले प्राप्त गर्ने मायाको रूपमा प्रतिक्रिया आइरहेका छन् । 

विद्यार्थी प्रि–प्लान्ड अनुसार चलिरहेका थिए, सुजन लम्साल (शिक्षक)लाई अत्तोपत्तो थिएन । “हामीले कक्षा कोठाको अन्तिममा केक लुकाएर राखेका थियौँ,” समन भन्छन्, “भिडियो खिच्ने जिम्मा लिएका साथीहरूले भिडियो खिचिरहेका थिए ।” 

सुजन कक्षमा जति कडा थिए, त्यति नै मिजासिला पनि । हरेक विद्यार्थीको बर्थ डे केही न केही गरेर मनाइदिन्थे । “सरले आजसम्म कुुनै विद्यार्थीको बर्थ डे नमनाएको हामीलाई सम्झना छैन । कसैको बर्थ डे मा उहाँ नाचेर रमाइलो गरिदिनुहुन्छ, कसैकोमा गीत गाएर,” समन भन्छन्, “हाम्रो बर्थ डे मा हामीलाई रमाइलो गराउने सरको बर्थ डे हामीले पनि रमाइलो गरि नै मनाउनुपर्छ भनेर हामीले प्लान गरेका थियौँ ।” 

सुजनको बर्थ डे वास्तवमा गएको शनिबार हो । तर शनिबार बिदा हुने भएपछि विद्यार्थीले उनलाई शुक्रबार नै सरप्राइज दिएका थिए । सुजन कक्षा र ११ र १२ का फिजिक्सका शिक्षक हुन् ।  

“म १२ को सेक्सन बी को क्लास टिचर हुँ । हामी हरेक दिन १० बजे विद्यार्थीको हाजिर गर्छौं । त्यो दिन पनि म हाजिर लिन जाँदै थिएँ । समन र उसको साथी आत्तिदै आएर सर बोडस र नन्बोडस विद्यार्थीको क्लासमा फाइट पर्‍यो भने । १२ कक्षामा पढ्ने विद्यार्थी हुन्, झगडा भयो होला भन्ने भयो,” सुजन भन्छन्, “के भएर झगडा गरेछन् भन्दै म अलि आत्तिएँ । कुदेर गएर झगडा गरिरहेका बच्चाहरूलाई छुट्याउने ध्यानमा म विद्यार्थी झुरुप्प जम्मा भएको ठाउँमा पुगेँ,” सुजन शुक्रबारको घटना स्मरण गर्छन्, “कुदेर गएर पन्साउँदा पनि बच्चाहरू मानिरहेका थिएनन् । जब म तीनचारजना बच्चालाई पन्साएर भित्र पसेँ, भित्र लुकेको बच्चाले त मलाई बुके दिएर ह्यापी वर्थ डे सर पो भने । म साँच्चै इमोसनल भएँ ।” 

समन र उनका साथीहरूका लागि त्यो, प्र्यांक थियो । तर उनलाई भने त्यो प्र्यांक भन्ने थाहा थिएन । 

“जब उनीहरूले मलाई फूल दिए, म असाध्यै इमोसनल भएँ । मेरा आँखाबाट बरर आँसु खसे । बच्चाले त मलाई माया पो गरेका रहेछन् भन्ने भयो,” सुजन भन्छन्, “केक र गिफ्ट बोकेर आएका रहेछन् । मैले पनि उनीहरूलाई उनीहरूको जन्म दिनमा रमाइलो गराउने प्रयास त गर्थें । तर, उनीहरूले जसरी मलाई सरप्राइज दिए, यो मेरो जिन्दगीकै अविस्मरणीय क्षण हो र हुनेछ ।” 

सुजनकै शब्द सापटी लिने हो भने उनीहरू अनुशासित र सभ्य विद्यार्थी हुन् । 

तर उनीहरूले सुजनकै लागि भने ‘रिस्क’ मोलेर विद्यालयले प्रतिबन्ध लगाएको मोबाइल कक्षा कोठामा पुर्‍याए । र भिडियो खिचे । 

“विद्यार्थी म सँग जति डराउँछन्, त्यति नै माया पनि गर्दारहेछन्,” सुजन इमोसनल हुन्छन्, “मै सँग डराउँछन् तर मैले भनेको नै मान्छन् । र यति धेरै माया पनि गर्दारहेछन् । उनीहरूको यो मायाले मलाई भावुक मात्रै बनाएन थप आत्मियता पनि बढायो भन्ने लाग्छ ।” 

कक्षा ११ र १२ का अधिकांश विद्यार्थीले उनलाई कक्षा बाहिर बर्थ डे विस गर्थे र यो वर्ष पनि गरे । 

तर, यो प्र्यांक पूर्ण सरप्राइज प्याकेज लाग्यो सुजनलाई । न उनको दिमागमा थियो । न अपेक्षा नै । भन्छन्, “यस्ता कुराले विद्यार्थी र शिक्षकबीच आत्मियता बढाउने रहेछ ।” 

जब भिडियो सामाजिक सञ्जालमा अपलोड भयो, सुरुमा खासै धेरै हेरिएको थिएन । 

“तर सरले नै गण्डकी बोर्डिङ स्कुलमा पढाउनु भएका पूर्वविद्यार्थीले कमेन्ट गर्दै सेयर गरेपछि भिडियो भाइरल भएको हो,” समनले अन्तिममा भने, “अरुले जस्तै हामीले पनि सरप्राइज मात्रै दिएका हौँ । सरले हामीलाई खुसी बनाउनु हुन्थ्यो, हामीले खुसी बनाउने प्रयास गरेका मात्रै हौँ ।” 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्