site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले उमेदवार सुहाङलाई माओवादीले सघाउने
एमाले अध्यक्ष केपी शर्मा ओली, सुहाङ नेम्वाङलगायत नेता । फाइल तस्बिर ।

काठमाडौं । आसन्न उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)लाई सघाउने भएको छ । माओवादीले इलाम–२ मा उमेदवार नउठाउने भएको उपमहासचिव तथा पार्टीका कोसी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जानकारी दिए ।

त्यसबारे आफूले ‘सर्कुलर’ जारी गरिसकेको उनले बताए । “इलाममा एमाले उमेदवारलाई सघाउने निर्णय भइसकेको छ । त्यसानुसार निर्णयबारे मैले जानकारी गराइसकेको छु,” उनले बाह्रखरीसित भने, “बझाङको सहकार्यबारे भने जानकारी छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केन्द्रमा पदाधिकारी बैठकबाट आफ्नै उमेदवार उठाउने निर्णय गरिएको थियो । इलाम–२ मा धीरेन्द्र शर्मालाई उमेदवार बनाउन तल्ला कमिटीबाट सिफारिस समेत गरिएको थियो । तर, माओवादी ‘ब्याक’ भएको हो ।

माओवादी कोषाध्यक्ष श्रीराम ढकालले बझाङ क्षेत्र नम्बर १ ‘क’ मा भने पार्टीका उमेदवारलाई सघाउन एमालेसँग छलफल भइरहेको जानकारी दिए । त्यहाँ माओवादीले जनबहादुर बुढालाई उमेदवार बनाउने तयारी गरेको छ ।

एमालेले इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर बुढालाई उमेदवार बनाउने निर्णय गरिसकेको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बझाङ छाड्ने गरी सहमति नभएको बताए । “हामीले कहीँ छाड्ने गरी निर्णय गरेका छैनौँ । छलफल हुँदै छ,” गौतमले भने ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्