site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘सी’ डिभिजन लिग आजदेखि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि सहिद स्मारक ‘सी’ डिभिजन लिग सुरु हुँदै छ । करिब तीन महिनासम्म सञ्चालन हुने लिगमा १४ टोलीको सहभागिता छ ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । आवश्यक परे च्यासलस्थित च्यासल रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने एन्फाले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगिताको पहिलो खेलमा आज आरसी ३२ फुटबल एकेडेमी र खालीबारी युवा क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

शीर्ष दुई टिम ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् । पुछारका दुई टिम ‘सी’ डिभिजन छनोटमा खस्कनेछन् । लिग विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने टिमले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको ‘फेयर प्ले टिम’ले ५० हजार र अरू व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको कुल बजेट तीन करोड ५५ लाख २८ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

प्रतियोगितामा वाग्मती युवा क्लब, आरसी ३२ फुटबल एकेडेमी, सानेपा क्लब, रानीबन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सीखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, समाजकल्याण स्पोर्ट्स सेन्टर, सामाजिक युथ क्लब, महावीर क्लब र खालीबारी युवा क्लबको सहभागिता छ । प्रतियोगितामा पहिलोपटक उपत्यकाबाहिरका पाँच टिमले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताको प्रतिटिकट मूल्य सामान्य प्यारापिटतर्फ १०० र भीआईपी प्यरापिटतर्फ २०० रुपैयाँ तय गरिएको एन्फाले जनाएको छ । उद्घाटन खेलमा भने निःशुल्क प्रवेश पाइने भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्