site stats
बाह्रखरी :: Baahrakhari
खेल
शिवको गोलमा हारबाट जोगियो महावीर 

काठमाडौं । इन्जुरी समयमा शिवप्रसाद चौलागाईंले बराबरी गोल फर्काएपछि सहिद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर स्टडिज एन्ड एथ्लेटिक्स एसोसियसनले रानीवन स्पोर्ट्स क्लबसँगको हार टारेको छ । 

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलको इन्जुरी समयमा शिवले गोल फर्काएपछि महावीर र रानीवनले १–१  अंक बाँडेका हुन् ।

त्यसअघि पहिलो हाफको इन्जुरी समयमा धिरज थापाले गोल गर्दै रानिवनलाई अग्रतामा राखेका थिए । खेलको १५औँ मिनेटमा गोलकिपर आसिब राई रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि महावीरले १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

करिब तीन महिनासम्म सञ्चालन हुने लिगमा १४ टोलीको सहभागिता छ । बिहीबारदेखि सुरु भएको सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।

सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । आवश्यक परे च्यासलस्थित च्यासल रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने एन्फाले जनाएको छ ।

शीर्ष दुई टिम ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् । पुछारका दुई टिम ‘सी’ डिभिजन छनोटमा खस्कनेछन् । 

लिग विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने टिमले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको ‘फेयर प्ले टिम’ले ५० हजार र अरू व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

प्रतियोगिताको कुल बजेट तीन करोड ५५ लाख २८ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ । प्रतियोगितामा वाग्मती युवा क्लब, आरसी ३२ फुटबल एकेडेमी, सानेपा क्लब, रानीबन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सीखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, समाजकल्याण स्पोर्ट्स सेन्टर, सामाजिक युथ क्लब, महावीर क्लब र खालीबारी युवा क्लबको सहभागिता छ । 

प्रतियोगितामा पहिलोपटक उपत्यकाबाहिरका पाँच टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको प्रतिटिकट मूल्य सामान्य प्यारापिटतर्फ १०० र भीआईपी प्यरापिटतर्फ २०० रुपैयाँ तय गरिएको एन्फाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्