site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तेस्रो त्रैमाससम्म पुँजीगत खर्च ३२ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।

चालु आवका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँबराबर खर्च भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालु आवका निम्ति सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१.९३ प्रतिशत अर्थात् नौ खर्ब नौ अर्ब ३९ करोड १४ लाख रुपैयाँबराबर रहेको छ ।

चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर विनियोजन भएकामा हालसम्म ५६.४१ प्रतिशत अर्थात् ६ खर्ब ४४ अर्ब दुई करोड ५४ लाख रुपैयाँबराबर खर्च भएको छ ।

यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँबराबर विनियोजन भएकामा ५४.६४ अर्थात् एक खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बजेट खर्चमा मात्र नभई राजस्व संकलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँबराबर राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ ।

चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२.५ प्रतिशत अर्थात् सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख रुपैयाँ असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१.४१ प्रतिशत अर्थात् ६ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५.७१ प्रतिशत अर्थात् ७६ अर्ब ९२ करोड ५६ लाख रुपैयाँबराबर संकलन भएको छ ।

चालु आवका निम्ति सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँबराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँबराबर अनुदान लिइएको छ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्