site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीको अनुमतिबिना विदेश नजान सांसदलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमतिबिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सोमबार संसदीय दलको बैठकमा उनले पार्टीको अनुमतिबिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् ।

पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्र सांसदहरू विभिन्न कार्यक्रममा जान सक्ने जानकारी गराए । “समितिका बैठकहरूमा हाम्रो भूमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ । र, माननीयजीहरू कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ,” उनले भने, “माननीयहरू कहाँ हुनुहुन्छ ? बिनाइजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिऊँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विगतमा सांसदहरू रातो पासपोर्टलगायत काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त उनले पेस गरे । त्यसो हुन नदिन पनि सांसदहरू दलको परामर्शमा मात्र विदेश जान उपयुक्त हुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सहकारीलगायत ठगीमा पनि सांसदहरू संलग्न रहेको उल्लेख गरे । त्यसमा नफस्नका निम्ति पार्टीका सांसदहरूले सावधानी अपनाउनुपर्ने उनले बताए ।

“...आज सहकारीको नाममा ठगीहरू, ठगहरू तपाईं हामीले देखेका छौँ । अर्बौँका ठग । त्यसकारण ठगहरू पनि छन्,” उनले भने, “त्यो कुरा ख्याल राख्नुपर्छ ।”

अध्यक्ष ओलीले कुनै सांसदले पार्टीको अनुमतिबिना कुनै कसुर गरेमा दल जवाफदेही नहुने पनि बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्