site stats
बाह्रखरी :: Baahrakhari
खेल
राखेपद्वारा मिसन–२०२६ मा पाँच खेल थप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए ।

मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार काठमाडौंको लाजिम्पाटमा आयोजित कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दोस्रो चरणमा पनि पाँच खेल थप गरिएको घोषणा गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थप गरिएका खेलहरूमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा समान १२–१२ खेलाडीले स्थान पाएका छन् । भारोत्तोलन र कुस्तीमा समान पाँच–पाँच तथा एथलेटिक्समा समान चार पुरुष/महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् ।

जापानमा हुने २०औँ एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले गत माघ १५ देखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो । एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलोपटक हो ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्