site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी पूर्वसभामुखसहितको टोलीले दलाई लामालाई भेट्न खोजेपछि चीनको कडा चेतावनी

काठमाडौं । अमेरिकाका पूर्वसभामुख न्यान्सी पेलोसीसहितको एक प्रतिनिधिमण्डलले भारतको हिमाञ्चल प्रदेशमा गएर तिब्बती धर्म गुरु दलाई लामालाई आज (बुधबार) भेट्ने भएको छ ।

उक्त भेटघाटका क्रममा अमेरिकी सदनमा चीन–तिब्बत विवादलाई लिएर हालै पारित भएको एक विधेयकबारे पनि चर्चा हुने जनाइएको छ । यसरी अमेरिकी पूर्वसभामुख समेत रहेको टोलीले दलाई लामासँग भेट्न लागेको विषयलाई लिएर चीनले कडा असन्तुष्टि जनाएको छ । उसले चेतावनीको शैलीमा भनेको छ, “यदि, अमेरिका तिब्बतलाई चीनको हिस्सा नमानेर आफ्नो प्रतिबद्धताको सम्मान गर्दैन भने चीनले यसमा कडा कदम चाल्नेछ ।” 

चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले १४ औँ दलाई लामा कुनै विशुद्ध धार्मिक व्यक्ति नभएको बताएका छन् । धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिमा लिप्त एक निर्वासित राजनीतिक व्यक्ति एको उनको टिप्पणी छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लिनले खासगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले कांग्रेसमा पारित भएको  चीन–तिब्बत विवाद सुल्झाउने वकालत गरिएको कानुनको समर्थन नगर्न अपिल गरेका छन् । लिनले भनेका छन्, “अमेरिकाले यो विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुन बनाउनु हुँदैन । चीन आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितलाई दृढताका साथ रक्षा गर्न कडा कदम उठाउनेछ ।” 

भारतस्थित चिनियाँ दूतावासले पनि लामो वक्तव्य जारी गर्दै अमेरिकी पक्षसँग दलाई लामा समूहको चीन विरोधी पृथकतावादी प्रकृतिलाई पहिचान गर्न आग्रह गरेको छ । “शिजांग(चीनले तिब्बतलाई भन्ने नाम)सँग जोडिएको मुद्दामा अमेरिकाले चीनसँग गरेको प्रतिबद्धताका सम्मान गरोस् र दुनियालाई गलत सन्देश दिने काम बन्द गरियोस्,” दूतावासले जनाएको छ ।  

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शिजांग हमेसा चीनको हिस्सा रहेको बताएका छन् । उनले शिजांग चीनको आन्तरिक मामिला भएको बताएका छन् । 

“कुनै पनि बाहिरी हस्तक्षेपको कहिल्यै पनि अनुमति दिइने छैन । कुनै पनि व्यक्ति वा ताकतले कहिल्यै पनि चीनलाई नियन्त्रित गर्ने र दबाउन शिजांगलाई अस्थिर गर्ने प्रयास नगरोस् । यस्तो प्रयास कहिल्यै पनि सफल हुनेछैन,” उनले भनेका छन् । 

उनले अमेरिकासँग शिजांगलाई चीनको हिस्सा मान्ने आफ्नो प्रतिबद्धतामा कायम रहन पनि आग्रह गरेका छन् । उनले शिजांगको स्वतन्त्रताको समर्थन नगरे चीनले आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितको रक्षार्थ कडा कदम उठाउने चेतावनी दिएका छन् । 

दलाई लामा भेट्न खोज्ने अमेरिकी प्रतिनिधिमण्डलमा न्यान्सीबाहेक टेक्सासका रिपब्लिकन नेता तथा अमेरिकी कांग्रेसमा विदेश मामिला समितिका अध्यक्ष माइकल मैककाल पनि सामेल छन् ।
बीबीसी

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्