
काठमाडौं । गएको मेमा पाकिस्तानसँग सैन्य भिडन्तको पहिलो दिन आफ्नो देशले केही लडाकु विमान गुमाएको एक भारतीय अधिकारीले स्वीकार गरेका छन् । इन्डोनेसियामा कार्यरत भारतीय नौसेनाका क्याप्टेन शिव कुमारले जाकार्तामा आयोजित एक सेमिनारमा यो खुलासा गरेका हुन् ।
यस्तो हुनुमा भारत सरकारले पाकिस्तानी सैन्य संरचनामाथि आक्रमण गर्न सुरुआती अवस्थामा रोक लगाउनु मूल कारण रहेको उनले उल्लेख गरे । आफ्नो देशको सरकारले सुरुआतमा पाकिस्तानका आतंकवादी संरचनालाई मात्र निसाना बनाउने आदेश दिएको उनले बताए ।
इन्डोनेसियाली एरोस्पेसविज्ञले भारतीय वायुसेना (आईएएफ)ले भारतको ‘अपरेसन सिन्दूर’मा तीन राफेल, एक मिग–२९ र एक सुखोई–३० सामरिक ड्रोनसहित पाँच लडाकु विमान गुमाएको र पाकिस्तानले दुई एस–४०० लन्चरमा क्षति पुर्याएको दाबी गरेका थिए । भारतीय नौसेनाको क्याप्टेन सेनाको कर्णेलसरह हुन्छन् ।
क्याप्टेन शिव कुमारले अगाडि भने, “भारतले यति धेरै विमानहरू गुमायो भन्ने उनको कुरासँग सहमत नहुन सक्छु । तर, म के स्वीकार गर्छु भने हामीले केही विमानहरू गुमाएका थियौँ । र, त्यो केवल राजनीतिक नेतृत्वले सैन्य संरचना र उनीहरूको हवाई रक्षा प्रणालीमाथि आक्रमण गर्न नदिएको बाध्यताका कारण भएको हो ।”
उनले भारतले सुुरुआती हवाई क्षतिपछि रणनीति परिवर्तन गरेर पाकिस्तानमाथि पूर्ण रूपमा वर्चस्व कायम गरेको जिकिर गरे । “क्षतिपछि हामीले हाम्रो रणनीति परिवर्तन गर्यौँ र उनीहरूका सैन्य संरचनामाथि आक्रमण गर्यौँ । हामीले पहिले शत्रुको हवाई रक्षा प्रणालीको दमन र विनाश हासिल गर्यौँ र त्यसपछि हाम्रा सबै जमिनबाट आकाशमा हान्ने मिसाइल र जमिनबाट जमिनमा हान्ने मिसाइलहरू प्रयोग गरेर आक्रमण सजिलै सफल भए । मे ८, ९ र १० मा भारतले पूर्ण हवाई वर्चस्व कायम गर्यो,” हिन्दुस्तान टाइम्सले उनको भनाइ उद्धृत गरेको छ ।
दूतावास भन्छ– तथ्य तोडमोड गरियो
इन्डोनेसियास्थित भारतीय राजदूतावासले भने क्याप्टेन शिव कुमारको भनाइलाई मिडियाले गलत ढंगले प्रस्तुत गरेको स्पष्टीकरण दिएको छ ।
दूतावासले आफ्नो एक्स पोस्टमा भनेको छ, “हामीले केही मिडिया रिपोर्टहरू पढेका छौँ, जुन एक सेमिनारमा डिफेन्स अट्याचीको प्रस्तुतिसँग सम्बन्धित छन् । उनको वक्तव्यलाई वास्तविक सन्दर्भबाट हटाएर प्रस्तुत गरिएको छ । र, मिडिया रिपोर्टमा उनको भनाइलाई गलत तरिकाले प्रस्तुत गरिएको छ । प्रस्तुतिमा भारतीय सैन्य बलले एक निर्वाचित सरकारको आदेशानुसार काम गर्ने विधि रहेको र त्यो हाम्रा केही छिमेकी देशहरूभन्दा फरक रहेको भनिएको थियो ।”
दूतावासले ‘अपरेसन सिन्दूर’को उद्देश्य आतंकवादीको अखडालाई निसाना बनाउनु रहेको र भारतको कारबाही तनाव बढाउने प्रकृतिको नभएको डिफेन्स अट्याची (क्याप्टेन शिव कुमार)ले बताएको उल्लेख गरेको छ ।
कश्मीरको पहलगाममा हमलापछि भारतले मे ७ मा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही गरेको थियो । त्यसलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो ।