
काठमाडौं । युक्रेनको सेनाले पछिल्लो रुसी आक्रमणमा एक युक्रेनी एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त बनेको बताएको छ । पछिल्लोपटक रुसले सयौँ ड्रोन र दर्जनौँ मिसाइलसहित गरेको हवाई आक्रमणमा लडाकु विमानका पाइलट लेफ्टिनेन्ट कर्णेल मक्सिम उस्तिमेन्को पनि मृत्यु भएको युक्रेनी वायुसेनाको दाबी छ ।
युक्रेनले गत गर्मीयामयता चौथो एफ–१६ विमान गुमाएको हो । यस्तै, एफ–१६ विमान उडाउन थालेयता तेस्रो एफ–१६ पाइलट गुमाएको हो ।
वायुसेनाले उस्तिमेन्कोले विमानलाई बस्ती भएको क्षेत्रबाट टाढा लैजान सबै प्रयास गर्दैगर्दा बाहिर निस्किने समय नपाएको बताएको छ ।
थोरै संख्यामा रहेका शीर्ष पाइलटलाई मात्र युक्रेनको सबैभन्दा उन्नत लडाकु विमान एफ–१६ र उडाउन तालिम दिइएकाले उस्तिमेन्कोको मृत्यु युक्रेनका लागि ठूलो क्षति भएको बताइएको छ । यो तालिम अत्यन्त विशिष्ट भएकाले पूरा गर्न महिनौँ लाग्ने बताइन्छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उस्तिमेन्कोले देशको आकाशलाई वीरतापूर्वक सुरक्षा गरेकोमा प्रशंसा गर्दै मृत्यु हुनुअघि उनले सातवटा लक्ष्य नष्ट गरेको बताएका छन् ।
जेलेन्स्कीले मस्कोले रातभरदेखि आइतबारसम्म ६ वटा फरक स्थानमा ४७७ ड्रोन र ६० मिसाइल प्रहार गरेको बताएका छन् ।
पछिल्लो रुसी आक्रमण अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणमध्ये एक भएको सीएनएनले बताएको छ ।
सीएनएनबाट ।