site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानी धर्मगुरुले भने– ट्रम्प र नेतन्याहूलाई पछुताउन बाध्य बनाऔँ

काठमाडौं । इरानका शीर्ष शिया धर्मगुरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ‘ईश्वरका शत्रु’ भन्दै फतवा (धार्मिक आदेश) जारी गरेका छन् ।

ग्रान्ड आयतोल्लाह नासेर मकारेम शिराजीको यो आदेशमा विश्वभरका मुस्लिमलाई एकजुट भई इस्लामिक गणतन्त्रको नेतृत्वलाई धम्की दिने अमेरिकी र इजरायली नेतालाई सत्ताच्युत गर्न आह्वान गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मेहर न्युज एजेन्सीका अनुसार, मकारेमले आफ्नो आदेशमा भनेका छन्, “जो कोही व्यक्ति वा शासकले नेता वा मार्जालाई धम्की दिन्छ, त्यो ‘युद्ध सरदार’ वा ‘मोहारेम’ मानिन्छ ।” 

मोहारेम भनेको ईश्वरविरुद्ध युद्ध गर्ने व्यक्ति मानिन्छ । इरानी कानुनानुसार मोहारेम ठहरिएकालाई मृत्युदण्ड, क्रुसमा चढाउने, अंगभंग गर्ने वा निर्वासनको सजाय हुन सक्ने फक्स न्युजले जनाएको छ ।

फतवामा थप उल्लेख छ, “मुस्लिम वा इस्लामिक राज्यहरूले त्यस्ता शत्रुलाई कुनै पनि सहयोग वा समर्थन गर्नु हराम (निषेधित) छ । विश्वभरका सबै मुस्लिमले यी शत्रुहरूलाई आफ्ना शब्द र गल्तीमा पछुताउन बाध्य बनाउनुपर्छ ।”

“यदि, कुनै मुस्लिमले आफ्नो इस्लामिक कर्तव्य पालना गर्दा कठिनाइ वा क्षति भोग्छ भने ईश्वरको इच्छाले उनीहरूलाई ईश्वरको मार्गमा लड्ने योद्धाका रूपमा पुरस्कृत गरिनेछ,” फतवामा भनिएको छ ।

यो धार्मिक आदेश यही जुन १३ मा सुरु १२ दिने इजरायल–इरान युद्धपछिको हो । इरानमा इजरायलले गरेको आक्रमणमा शीर्ष सैन्य कमान्डर र आणविक कार्यक्रमसँग सम्बन्धित वैज्ञानिक मारिएका थिए । त्यसपछि तेहरानले इजरायली सहरमा ब्यालिस्टिक मिसाइल आक्रमणका साथ जवाफ दिएको थियो । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्