site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको दाबी : निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा समस्या छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले सोधेको प्रश्नमा उनले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखांकन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको बताए । “भुक्तानीको समस्या छैन । ठेक्का अवधि एक वर्ष बाँकी रहेकाले समयभित्रै उक्त सडकको निर्माण कार्य सम्पन्न हुने अपेक्षा सरकारले लिएको छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको बताए । 

अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुट तथा सहुलियत माग गरेको विषयमा समन्वय भइरहेको जानकारी दिए । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेस गर्न कार्य समिति गठन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय गरी कार्यान्वयनमा ल्याइने छ ।”

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्