site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिधाकुरा ‘द डार्क फाइल’ प्रकरण : तीनजनाविरुद्ध साइबर अपराधमा मुद्दा चल्यो 

काठमाडौं । सिधाकुरा डटकमको ‘द डार्क फाइल’ श्रृंखलामा प्रकाशित सामग्रीविरुद्ध साइबर अपराधमा मुद्दा चलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले बिहीबार नै मुद्दा दायर गरेको जानकारी दिए । उनले भने, “प्रहरी प्रतिवेदनको आधारमा बिहीबार नै मुद्दा दायर गरेका छौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दामा सिधाकुराका सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड गरेको भन्ने राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइएको उनले पुष्टि गरे । 

अदालतमा समेत उस्थित भएका उनीहरू तीनैजनालाई मुद्दामा फरार प्रतिवादी बनाइएको छ । सिधाकुरा डटकमले अख्तियारले आफ्नै पैसा दिएर गर्दै आएका ‘स्टिङ अप्रेसन’का मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा ‘डिल’ भएको भन्दै ‘द डार्क फाइल’ श्रृंखला प्रसारित/प्रकाशित गरेको थियो । 

अन्नपूर्णपोष्टको तीनकुनेस्थित कार्यालयमा भएको ‘डिल’ भन्दै प्रशारित अडियो सर्वोच्चमा अवहेलना मुद्दा चलाएसँगै नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालामा परीक्षणका लागि पठाइएको थियो । प्रहरीले फरेन्सिक जाँच गर्दा अडियो ‘फेक’ भेटिएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।

मुद्दा चलाइएका तीनैजनाविरुद्ध सर्वोच्च अदालतल आफैँले सरोकारमा लिएर ‘सुमोटो’ चलाएको अवहेलना मुद्दा सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चको संयुक्त इजलासले गत जेठ ३० गते बृहत् पूर्ण इजलासमा पठाउन आदेश गरेपछि नौजना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलास बनाउने निर्णय भएको छ । तर, बृहत् पूर्ण इजलासको लागि पेसी मिति भने तोकिसकेको छैन ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्