site stats
बाह्रखरी :: Baahrakhari
देश
१२ वर्षदेखि सम्बन्धन कुर्दै ६६ प्राविधिक शिक्षालय, सरकार भन्छ– नयाँ ऐन नबनी हुँदैन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम शिक्षा परिषद् (सीटीईभीटी)ले सम्बन्धन स्वीकृति नदिएको भन्दै ६६ वटा प्राविधिक शिक्षालय संसदीय समितिमा पुगेका छन् । ०६९ सालदेखि प्रक्रिया अघि बढाए पनि सम्बन्धन नपाएको भन्दै कलेज सञ्चालकहरूले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिएका छन् ।

सम्बन्धन नपाउनेमा २४ वटा नर्सिङ कलेजसहित चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेका प्राविधिक शिक्षालय छन् । मापदण्ड र प्रक्रिया पूरा भएका शिक्षालयहरूलाई सम्बन्धन स्वीकृतिका निम्ति शिक्षा मन्त्रालयमार्फत पहल गरिदिन समितिलाई उनीहरूको आग्रह छ ।

ठूलो लगानी डुबेको सञ्चालकको गुनासो 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्बन्धन कुरिरहेका प्राविधिक शिक्षालयहरूले मापदण्डबारे २०६९ सालदेखि पटकपटक अनुगमन तथा मापदण्ड परीक्षण गरेर पनि सीटीईभीटी चुप बसेको आरोप लगाएका छन् । पीसीएल नर्सिङ कार्यक्रमका निम्ति २४ मध्ये ११ वटा नर्सिङ कलेजले मापदण्ड पूरा गरेका छन् ।

अन्य कलेजले पनि आशयपत्र पाएर प्रक्रिया अघि बढाएका छन् । मापदण्ड पूरा गरेका कलेजको चिकित्सा शिक्षा अयोग र सीटीईभीटीबाट दुईपटक निरीक्षण तथा मापदण्ड भेरिफिकेसन भइसकेको छ । 

तर, सबै प्रक्रिया पूरा गरेका कलेजले पनि हालसम्म सञ्चालन स्वीकृति नपाएको बताउँछन्, सम्बन्धन स्वीकृति पीडित संघर्ष समितिका सचिव अभिषेक गुप्ता  । 
उनका अनुसार एउटा कलेजको निरीक्षण,पूर्वाधार भेरिफिकेसन लगायतका शीर्षकमा आठ लाखभन्दा बढी खर्च भइसकेको छ ।

पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन लगायतमा ठूलो लगानी लागेको र बनेको लामो समयसम्म सञ्चालन नहुँदा बैंकको ब्याज तिर्ने अवस्थासमेत नरहेको कलेज संस्थापकहरूको गुनासो छ । 
 

अदालतको ओदशको अवहेलना

पूर्वाधार निर्माण सम्पन्न भएको लामोा समय बितिसक्दा पनि सम्बन्धन नपाएपछि प्राविधिक शिक्षालयहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । तीनवटा कलेजका सम्बन्धमा अदालतले २०८० चैत र २०८१ जेठमा कलेजको पक्षमा परमादेश जारी गरेको देखिन्छ । 

सीटीईभीटीका नाममा जारी आदेशमा ’निवेदकको मागबमोजिम आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी शैक्षिक सत्र, २०८१ अगावै आवश्यक निर्णय गर्नू’ भनिएको छ । 

अदालतको आदेशपछि पनि सीटीईभीटीले सम्बन्धन स्वीकृति दिन आलटाल गरेको भन्दै अहिले कलेज सञ्चालकहरू संसदीय समितिसम्म पुगेका हुन् । 

समितिले भने यस सन्दर्भमा मन्त्रालय, सीटीईभीटी र कलेज सञ्चालक समेतलाई राखेर छलफल गर्ने तयारी गरेको छ । साउन ९ गतेको समिति बैठकमा यसबारे छलफल संक्षिप्त छलफल भएको थियो ।

सम्बन्धन टुंग्याउन ऐन संशोधन गर्नैपर्छ : मन्त्रालय

चिकित्सा शिक्षाका कार्यक्रम विशेष गरी नर्सिङ पढाउने कलेजको सम्बन्धनका सन्दर्भमा निर्णयमा गर्न चिकित्सा शिक्षा ऐन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐनबीचको बेमेल नै मुख्य कारण देखिएको छ । 

साउन ९ गतेको समिति बैठकमा शिक्षासचिव डा. दीपक काफ्लेले चिकित्सा शिक्षाका नयाँ कलेजहरूलाई सम्बन्धन दिन ऐन संशोधन गर्नैपर्ने बताए । "सम्बन्धन दिन क्यूमा राख्नुपर्ने होइन । तर, दुई निकायका ऐन बाझिँदा अड्किएको छ, सम्बन्धन टुंग्याउन नयाँ ऐन बन्नैपर्छ," काफ्लेले भने ।

दुई ऐनमा एकरूपता ल्याउने गरी प्राविधिक टिम बनेको र यसले प्रशासनिक तयारी अघि बढाएको उनले जानकारी दिए । 

के हो ऐनमा बाझिएको विषय ?

चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १२ क मा ‘विद्यार्थीको पढाइ र अभ्यासका लागि मेडिकलतर्फ कम्तीमा ३०० तथा डेन्टल र नर्सिङतर्फ १०० शय्याको अस्पताल सञ्चालन नभएसम्म र आयोगले तोको अन्य मापदण्ड पूरा नगरेमा सम्बन्धित विषयको कार्यक्रम सञ्चालन शिक्षण संस्थालाई आशयपत्र प्रदान गरिने छैन’ भन्ने उल्लेख छ ।

पीसीएल नर्सिङ कलेजलाई सम्बन्धन र नियमन दुवै काम सीटीईभीटीले गर्दै आएको छ । तर, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ मा भने ३०० शय्याको अस्पताबारे कतै बोलिएको छैन । 

फेरि पनि चिकित्सा शिक्षाका सबै तहका कार्यक्रम अयोगअन्तर्गत नै हुनुपर्ने आयोगले अडान राख्दै आएको थियो । यता सीटीईभीटीले भने परिषद् र चिकित्सा शिक्षा ऐन, २०७५ को क्षेत्राधिकार छुट्याउनुपर्नेमा जोड दिँदै आएको छ । यसै सन्दर्भमा मन्त्रालयले प्राविधिक टिमको माध्यमबाट ऐन संशोधन प्रक्रिया अघि बढाएको हो ।

हेर्नुहोस् सूची

CTEVT1-1722190632.jpg

CTEVT2-1722190632.jpg

CTEVT3-1722190631.jpg

CTEVT4-1722190631.jpg

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्