site stats
बाह्रखरी :: Baahrakhari
देश
कसरी जोगिने हैजाबाट ?

काठमाडौं । पछिल्लो १२ दिनमा नेपालमा २५ जनामा हैजा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा यो संख्या बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

१९ जुलाईदेखि ३१ जुलाईसम्म ललितपुरमा मात्रै १६ जना संक्रमित भएका छन् । काठमाडौंमा एक र कैलालीमा आठ जनामा हैजा पुष्टि भएको छ ।

निरन्तरको वर्षा, बाढी, अव्यवस्थित फोहोर र असुरक्षित खानपानले हैजाको जोखिमलाई बढाएको विज्ञहरू बताउँछन् । फोहोरमा पाइने जीवाणुहरू पानीमा मिसिन जाँदा त्यसले हैजा, टाइफाइडजस्ता रोगहरू निम्त्याउने सम्भावना उच्च रहन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धेरै दिनसम्म कुहिएको फोहोरबाट निस्किने जीवाणु पानीमा मिसिन पुगेमा पानीलाई ‘ब्ल्याक वाटर’मा परिणत गरिदिन्छ, जुन गम्भीर झाडापखाला, हैजा, टाइफाइडजस्ता रोगको प्रमुख कारक हो ।

वातावरणविद् भुषण तुलाधार फोहोरबाट निस्किएको जीवाणुले इनार, ढुंगेधाराजस्ता पानीका स्रोतहरूको पानी दूषित गराउन सक्ने भन्दै जथाभाबी पानी नपिउन सुझाउँछन् ।

काठमाडौं उपत्यकामा हैजा संक्रमण फैलिन थालेपछि गत वर्ष स्वास्थ्य कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिकालगायतका निकाहरूले हैजा देखिएका क्षेत्रमा पानीको अध्ययन गरेका थिए । 

अध्ययनमा पानीका अधिकांश क्षेत्रमा पानीका स्रोतहरू असुरक्षित भएको पाइएको थियो । कतिपय ठाउँहरूमा पानीको स्रोत नै दूषित भएको र कतिमा स्रोत सुरक्षित र स्वच्छ भए पनि धारासम्म आइपुग्दा प्रदूषित भएको पाइएको थियो । 

बर्खायाममा घरबाहिर जथाभाबी खाना नखान चिकित्सकहरूले सुझाव दिएका छन् । संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला अहिलेको अवस्थामा सकेसम्म घरबाहिरको खाना नखान सुझाव दिन्छन् ।

“असुरक्षित खानामा फोहोरबाट आइपुग्ने झिँगा, साङ्ला आदिले जीवाणु ल्याएर छोड्न सक्छ, यस्ता दूषित खानाले झाडापखाला, हैजासहित विभिन्न संक्रमण गराउँछ,” डा. कोइराला भन्छन् ।

हैजाको जोखिमबाट बच्न पानी एकपटक मात्र नभई पटकपटक शुद्धीकरण गरेर प्रयोग गर्न र उमालेरमात्रै पिउन ईडीसीडीले आग्रह गर्दै आएको छ ।

हैजा भिब्रियो कोलेरा प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालाजन्य रोग हो । यस रोगबाट मानिसमा अति छिटोछिटो झाडापखाला लागेर बिरामीको मृत्युसमेत हुन सक्छ । हैजा संक्रमित व्यक्तिको दिसाको माध्यमबाट बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यम हुँदै सर्छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्