site stats
बाह्रखरी :: Baahrakhari
देश
अधुरै रह्यो जन्मथलो फर्किने पाइलट मल्लको योजना

म्याग्दी । नुवाकोटमा आज दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकोप्टरका पाइलट अरूण मल्लको जन्मथलो म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती हो । 

पछिल्लोपटक गत चैतमा भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए ।

“रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो,” अरूणका भतिज रिम मल्लले भने, “काका (अरूण) को योजना सुनेर उत्साहित भएका हामी दुर्घटनाको खबरले मर्माहत भएका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मल्लको भगवतीमा रहेको पुर्ख्यौली घर पुरानो भएकाले जीर्णोद्धार थालिएको थियो । पुर्ख्यौली जग्गामा खेतीपाती र पशुपालन गरेर सेवा निवृत्त जीवन बिताउने मल्लको योजना अधुरै रह्यो ।

अरूणका एक जना दाजु र तीन जना दिदिबहिनी छन् । बेनीकी चन्नु मल्लसँग विवाह गरेका अरूणका दुई छोरी छन् । उनीहरूको पनि विवाह भइसकेको छ । अरूणको परिवार हाल ललितपुरमा बस्ने गरेका उनका साथी कर्णबहादुर भण्डारीले बताए ।

“म्याग्दीमा बिरामीलाई आकस्मिकरूपमा अस्पताल पुर्‍याउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकोप्टर आवश्यक पर्दा सम्झने व्यक्ति नै अरूण मल्ल हुनुहुन्थ्यो,” भण्डारीले भने, “रघुगंगा गाउँपालिका र म्याग्दी जिल्लाले मात्र नभएर नेपालले एक जना अनुभवी, साहसी पाइलट गुमाएको महसुस भएको छ ।”

करिब ३० वर्षदेखि हेलिकोप्टर उडाउँदै आएका अरूणले म्याग्दीबाट विसं २०५६ मा निर्वाचित सांसद रहेका स्वर्गीय नारायणसिंहको कर्णाली एयरको हेलिकोप्टर उडाएका थिए । द्वन्द्वकालमा हेलिकोप्टर उडाएका मल्लले हेली उद्धारका काममा प्राथमिकता दिने गरेको भण्डारीले स्मरण गरे ।

गत वैशाख २८ गते मनाङको नासो गाउँपालिकास्थित भिस्ताङ भ्यालीमा बिरामी उद्धारका लागि अरुणले उडाएको हेलिकोप्टर चढेर गएका जिल्ला प्रशासन कार्यालय मनाङका तत्कालीन नायब सुब्बा ज्ञानदीप विश्वकर्मा (कुशल)ले उनी अनुभवी र साहसी पाइलट भएको स्मरण गरे । 

मृदुभाषी र आँटिला स्वभावका अरूणको निधनले जन्मथलो राखु भगवती शोकमा डुबेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुवेसी उडेको एयर डाइनेस्टीको हेलिकोप्टर मल्लले उडाएका थिए । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा पाइलट मल्ल र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्