site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरको अदालत भवन पुनःनिर्माण हुँदै

ललितपुर । ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको अदालत भवन पुनःनिर्माण हुने भएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त भवनको पुनःनिर्माणको काम अघि बढेको छ । 

जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी लीला पाठकका अनुसार २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन अवस्थामा छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जीर्ण बन्दै गएपछि घाँसले ढपक्कै ढाकेको उक्त भवनको तल्लो कोठामा यसअघि इलाका हुलाक कार्यालय सञ्चालित थियो । हाल उक्त भवन पुनःनिर्माण हुने भएपछि इलाका हुलाक कार्यालय अर्को ठाउँमा सारिएको छ । 

भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण हुन लागेको सो भवन पुनःनिर्माणको सबै प्रक्रिया सकिएर अबको केही दिनमा काम सुरु हुने उनले बताइन् । “हाल जीर्ण अवस्थामा रहेको भवनभित्र रहेका समान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको छ । अबको केही दिनमा काम सुरु हुन्छ”, सूचना अधिकारी पाठकले भनिन् । जीर्ण भवन  नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ९१९५६० अनुसार निर्माण गरिनेछ । भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनर्निर्माणका लागि प्रस्ताव गरिएको पुरातत्व विभागले जनाएको छ । 

पुनःनिर्माणका लागि काम सुरु हुन थालेको ऐतिहासिक अदालत भवन १९९० सालको भूकम्प अगाडि तीन तलाको रहेको पाइएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्