site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्रीले लिइन् इजरायल र लेबनानको पछिल्लो अवस्थाबारे जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासलाई निर्देशन दिएकी छन् । ती देशमा रहेका नेपाली राजदूतहरूसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी हुन् ।

बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेष गरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरू र उनीहरूका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिइन् । बैठकमा मन्त्री राणाले भनिन्, “कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नू । कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नू र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउन सक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नू ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री राणाले सम्बन्धित देशका दूतावासलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका हेल्पडेस्क स्थापना गरेर समस्यामा परेका नेपालीलाई सहायता र समन्वय प्रदान गर्न समेत निर्देशन दिएकी छन् ।

इजिप्टका निम्ति नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाका बारेमा जानकारी गराए । त्यहाँ रहेका नेपालीलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको उनले उल्लेख गरे ।

त्यहाँ हाल करिब एक हजार २०० नेपाली रहेका अनुमान गरिएको छ । उनीहरूमध्ये अधिकांश घरायसी काममा रहेको जानकारी राजदूत लम्सालले गराए ।

दूतावासले जारी गरेको सूचनाका आधारमा तीनजना मात्र सम्पर्कमा आएका र उनीहरू पनि बेरुतमा सुरक्षित रहेका समेत उनले जानकारी गराए । हाल कुनै नेपालीले आफूलाई समस्या परेको भनी ‘रिपोर्टिङ’ नगरेको तर नेपालमा रहेका आफन्त बढी चिन्तित भएका उनले बताए ।

यस्तै, इजरायलका निम्ति कार्यवाहक नेपाली राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ करिब चार हजार ५०० नेपाली सुरक्षित रहेका बताए ।

भर्चुअल बैठकमा पाकिस्तानका निम्ति नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्