site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपालाई लिङदेनले भने– हावादारी पार्टी, फेदटुप्पो के हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो उपनिर्वाचनमा मतदाताले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पराजित गर्नुपर्ने बताएका छन् । तीनै ठूला पार्टी भ्रष्ट भएको र देशलाई बर्बाद बनाएको भन्दै उनले उपनिर्वाचनमा ती दललाई पराजित गर्नुपर्नेमा जोड दिए ।

पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने कार्यमा सहभागी हुन नहुने टिप्पणी गरे । उनले भने, “देश यत्रो बर्बाद भयो, अनि यो बर्बादीमा आफैँ सहभागी हुने ?”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हावादारी पार्टीको संज्ञा दिए । रास्वपासँग देशलाई अघि बढाउने कुनै योजना नभएको उनले जिकिर गरे । “अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो – केही पनि थाहा छैन,” उनले भने, “कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ?”

आफ्नो पार्टी मात्र सुशासनको पक्षधर रहेको भन्दै उनले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास व्यक्त गरे । उनले भने, “यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ! राप्रपालाई भेट नदिएर त्यही कांग्रेसलाई दिने ? त्यही एमालेलाई दिने ? त्यही माओवादीलाई भोट दिने ?”

आफ्नो पार्टीले जितेका स्थानीय तहले नमुनायोग्य काम गरेको भन्दै उनले उपनिर्वाचनमा जनताले साथ दिने बताए । “देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु– नेपालको राजनीतिमा राप्रपाबाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस्,” उनले भने । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्