site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको उपनिर्वाचन प्रारम्भिक समीक्षा– प्राप्त मत उत्साहजनक, मतदाताप्रति आभार 

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले उपनिर्वाचनबाट प्राप्त मत परिणामलाई सन्तोषजनक भनेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी उपनिर्वाचनबाट पहिलो दलको हैसियत पाएको भन्दै मतदाताप्रति आभार प्रकट गरेका छन् । 

शर्माले भनेका छन्, “पहिलो दलका रूपमा नेपाली कांग्रेसलाई विजयी गराउनु हुने सबै आदरणीय मतदातामा सम्मान र आभार प्रकट गर्दै रिक्त ४४ स्थानका नवनिर्वाचित जनप्रतिनिधिमा नेपाली कांग्रेस एकमुष्ट बधाई ज्ञापन गर्दछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा भने पछि गर्ने भन्दै ‘एक्लै लडेर प्राप्त स्थान’लाई उत्साहवर्धक संकेत भनेका छन् । उनले मुख्य दलप्रति नागरिकको विश्वास अझ बलियो भएको सन्देश पनि उपनिर्वाचनले दिएको बताएका छन् । 

“मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ,” विज्ञप्तिमा भनिएको छ । 

रिक्त भएका ४४ मध्ये १९ स्थानमा कांग्रेसका उमेदवार निर्वाचित भएको भन्दै ०७९ मा गठबन्धनबाट लडेर प्राप्त सिटभन्दा कम भए पनि एक्लै लडेर प्राप्त सिट गुणात्मक भएको उल्लेख गरेको छ । “रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उमेदवार विजयी भए । समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ,” विज्ञप्तिमा भनिएको छ, “यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका आदरणीय साथीहरूमा बधाई र सम्मान छ ।”

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्