site stats
बाह्रखरी :: Baahrakhari
देश
स्काउटसँग जोडेर ऊर्जामन्त्रीमाथि लगाइएको आरोपको खण्डन 

काठमाडौं । नेपाल स्काउटले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको छ ।नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले संयुक्त विज्ञप्ति जारी गरी ऊर्जामन्त्री खड्कालाई स्काउटसँग जोडेर प्रकाशित समाचारको खण्डन गरेका हुन् । 

उनीहरूले स्काउटलाईसमेत मुछेर नियोजित रूपमा झुटा समाचार सम्प्रेषण भएको भन्दै सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गर्न सम्बन्धित सञ्चारमाध्यमसँग अनुरोध गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“ऊर्जामन्त्री खड्का विगत दुई वर्षदेखि खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिसँग सम्बन्धित नरहेको जनाउँदै कम्पनी रजिष्ट्रारको कार्यालयबाट सेयर लगतको जानकारी प्राप्त हुन आएको छ, तथ्य नबुझीकन समाचार प्रकाशन हुँदा व्यक्तिगत चरित्रमाथि प्रहार भएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा विगतमा संस्थागत रूपमा नेपाल स्काउट तथा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच व्यावसायिक विषयमा केही असमझदारी भए पनि पछिल्लो समयमा उक्त असमझदारीलाई पूर्ण रूपमा निराकरण गर्ने उद्देश्यले दुवै पक्षका जिम्मेवार प्रतिनिधिबीच निरन्तर भेटघाट, छलफल तथा संवाद चलिरहेको र समाधान निकट पुगिसकेको जनाइएको छ ।

स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताबमोजिम ‘बहाल’बापतको बक्यौता हिसाबकिताब भई निरन्तर रूपमा वक्यौता रकम दाखिला भइरहेको र बक्यौताबापतको बाँकी सावाँ रकम आगामी १० दिनभित्र दाखिला गरिसक्ने सम्झौता भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, जिम्मेवार दुई पक्षबीचको आपसी समझदारीमा निराकरण उन्मुख विषयप्रति न्यूनतम जानकारीसमेत नराखी नियोजित रूपमा समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्