site stats
बाह्रखरी :: Baahrakhari
देश
हिउँदको दोस्रो वर्षा सोमबार रातिदेखि बुधबार बिहानसम्म !

काठमाडौं । नेपालमा यस वर्षको हिउँदो दोस्रो वर्षा सोमबार रातिदेखि बुधबार बिहानसम्म हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर, वर्षा पश्चिम नेपालमा केन्द्रित हुने देखिएको मौसमविद्को भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले काठमाडौं र पोखरामा छिटपुट वर्षाको सम्भावना रहेको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रबार आउँदै छ, तर त्यो पनि आधा पश्चिम नेपालमा मात्र रहने देखिन्छ,” पोखरेलले आइतबार राति सामाजिक सञ्जालमार्फत भनेका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पनि पश्चिमी वायुको प्रभावले देशको पश्चिम भूभागमा सोमबार दिउँसोदेखि बदलीको सम्भावना छ । शनिबार बाह्रखरीसँगको कुराकानीका क्रममा कँडेलले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको बताएकी थिइन् ।

“सोमबार दिउँसोदेखि नै बादल र सोमबार राति र मंगलबार वर्षा र हिमपातको सम्भावना छ । वर्षा भनेर त्यस्तो ठूलो होइन, हल्का वर्षाको सम्भावना छ,” उनले भनिन्, “हिमपात भने हल्कदेखि मध्यमसम्मको सम्भावना छ ।”

यी चार प्रदेशका पनि सबै ठाउँमा पानी नपर्ने उनले स्पष्ट पारिन् । केही स्थानमा मात्र वर्षाको सम्भावना रहेको उनले बताइन् ।

गएको मंसिर २३ र २४ गते देशका केही स्थानमा यस वर्षको हिउँदको पहिलो वर्षा भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्