site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

आफ्नो कर्तव्य पूरा गर्न चुकेका राज्यका अङ्गहरूमा सरकारपछि सम्भवतः  संसद्कै नाम आउला । विशेषगरी प्रतिनिधि सभाका सदस्यहरूले त ‘विधायक’को भूमिकै बिर्सेको भान हुन्छ । नत्र, संविधान कार्यान्वयनका लागि नबनाई नहुने कानुनसमेत एक दशकमा पनि नबन्ने दुरवस्था पक्कै हुने थिएन । 

सांसदहरूको सबैभन्दा बढी ध्यान निर्वाचन क्षेत्रको विकास निर्माणमा जाने गरेको देखिन्छ । यसपछि पार्टी र पार्टीभित्रका गुटहरूको व्यवस्थापनमा उनीहरूले धेरै समय दिन्छन् । त्यसपछि संसद् र संसदीय समितिका बैठकहरूमा सांसदहरू उपस्थित हुन्छन् । ‘उपस्थित’ किन भनेको भने बैठकमा सांसदको हाजिरी त देखिन्छ तर गणपूरक सङ्ख्या (कोरम) पुग्दैन ।

जसोतसो बैठकमा बसे पनि उनीहरूको धेरै समय भने अर्थहीन बहसमा जान्छ । बहसका क्रममा सांसदहरूले बैठकको कार्यक्षेत्र र सीमासमेत बिर्सन्छन् । नत्र, विद्युतीय कारोबारका सम्बन्धमा दलफल हुँदा विद्युत् व्यापारमा सबालजबाफ पक्कै हुने थिएन । अहिले निजामती सेवासम्बन्धी विधेयकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भइरहेको ट्रेड युनियनमाथि बन्देज लगाउने विषयमा भएको बहस यसैको एउटा उदाहरण हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजनीतिक दलहरूले ट्रेड युनियनहरूलाई आफूसँग आबद्ध नगराउन सक्छन् तर संसद्ले कुनै विचारसँग निकट श्रमिकहरूलाई ट्रेड युनियनमा संगठित हुन निषेध गर्ने कानुन बनाउन सक्तैन । कम्तीमा नेपालको संविधानको धारा ३४ (३) लगायतका सम्बन्धित प्रावधान संशोधन नगरी शान्तिपूर्वक संगठित हुने हक खोस्ने कानुन बन्न सक्तैन ।

समितिमा भने कर्मचारीको सरुवा, बढुवादेखि वृत्ति विकासका अन्य कतिपय विषयमा छलफल गर्नुभन्दा दलगत ट्रेड युनियन खोल्न दिने कि नदिने भन्ने विषयमा छफफल भइरहेको छ । निजामती सेवाका कर्मचारीहरूको दलगत विभाजनका कारण उनीहरूको कार्यसम्पादन कमजोर भएको हो भने युनियन खोल्न होइन तिनलाई दलमा आबद्धता दिन राजनीतिक पार्टीहरूलाई रोक्ने विषयमा बहस हुनुपर्छ । 

यसैगरी दलगत संगठन हुनुले नभएर तिनका नेताको आचरणका कारण कर्मचारी संगठनहरू जनतामा अप्रिय बन्न पुगेका हुन् भन्ने यथार्थ सांसदहरूले मनन गर्नु जरुरी छ । कर्मचारीले युनियनमा संलग्न भएबापत विशेष सुविधा र छुट नपाउने व्यवस्था कानुनमै गरिएमा सम्भवतः अहिलेको धेरै विकृति र विसङ्गति आफै हराएर पनि जानेछ । 

कर्मचारीको वृत्ति विकास हाकिमको तजबिजमा भर पर्ने कानुन, प्रणाली र अभ्यास निजामती सेवामा अझै प्रचलित छ । यो राणाकालमै थालिएको सामन्ती संस्कार हो । सुधारका नाममा कर्मचारीलाई पँजनीवरुद्ध ‘अनुचित सुरक्षा’ त दिइयो तर मान्यता परिवर्तन गरिएन । अहिले देखिएका अधिकांश विकृति सम्भवतः समयसापेक्ष आधुनिक विचार आत्मसात् नगर्नुका परिणाम हुन् । 

यसैले दलगत आधारमा संगठित हुन कर्मचारीलाई निषेध गर्ने होइन आफ्नो कर्तव्य पालनमा समर्पित हुन प्रेरित गर्ने प्रावधान विधेयकमा राख्न सांसदहरूको ध्यान जाओस् । कम्तीमा स्थायी जागिर जागिर खानेको वृत्ति विकास पारदर्शी र वस्तुगत आधारमा हुने व्यवस्था गर्न सांसदहरूको ध्यान जाओस् । दलगतरूपमा सङगठित कर्मचारी संगठनका नेताले पनि अब त बुझ्लान् कि - धेरै फुरफुर गर्ने चरीको प्वाँख पनि छिटो झर्छ ! 

           
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्