site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मंसिरमा महँगी बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ६.०५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा महँगी ४.९५ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगीदर ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः पाँच प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ भनेमरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिकविन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोसी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत, मधेस प्रदेशको ६.७७ प्रतिशत, वाग्मती प्रदेशको ५.८४ प्रतिशत, गण्डकी प्रदेशको४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ । थोक मुद्रास्फीति

२०८१ मंसिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १२.५९ प्रतिशत, ३.७७ प्रतिशत र ३.२० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्