site stats
बाह्रखरी :: Baahrakhari
देश
चन्द्रगढीमा शून्य भिजिविलिटी, निरन्तर घट्दै काठमाडौंको तापक्रम 
फाइल तस्बिर ।

काठमाडौं । देशभर आज मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो कोसी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । 

पश्चिमी वायूको सामान्य प्रभाव रहँदा मौसम सफा रहेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ । 

हिजो (बिहीबार) बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको थियो । बुधबार सोही समयमा काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो । यसले काठमाडौंको तापक्रम निरन्तर घटिरहेको देखाउँछ ।

मौसमविद् गोविन्द झा रातको समयमा आकाश खुला हुँदा बिहान चिसो बढेको बताउँछन् । राति आकाशमा बादल लाग्यो भने चिसो केही कम हुने उनको भनाइ छ । 

“चिसो बढ्नुका विभिन्न कारण हुन्छन्, उत्तरपश्चिमबाट हावा आयो भने पनि चिसो हुन्छ,” उनी भन्छन्, “तर, पश्चिमबाट अथवा मरुभूमिबाट हावा आयो भने तातो हुन्छ ।”  

अर्को कुनै प्रणाली विकास नभएर अहिलेकै अवस्था रहिरहे अझै केही दिन चिसो बढ्नसक्ने उनको भनाइ छ । 

यसैबीच, पश्चिम र मध्य तराई क्षेत्रमा हुस्सु लाग्दा पूर्वी तराईमा भने बाक्लो कुहिरो लागेको छ । 

“आज पश्चिम तराईमा हुस्सु र कुहिरो केही पातलो छ भने पूर्वी तराईका अधिकांश स्थानमा बाक्लो कुहिरो लागेको छ,” मौसमविद् झा बाह्रखरीसँग भन्छन्, “पूर्वका धेरै स्थानको भिजिविलिटी बिहान पौने ६ बजे ५० मिटरको आसपासमा छ ।” 

झापाको चन्द्रगढीमा शून्य भिजिविलिटी रहेको उनले जानकारी दिए । शून्य भिजिविलिटीमा छेउमा रहेको केही सामग्री पनि देखिँदैन । 

विराटनगरमा ५० मिटर र भैरहवामा १०० मिटर भिजिविलिटी छ । घाम लागेपछि केही कम हुने र दिउँसोसम्म हट्ने मौसमविद् झाले जानकारी दिए । 

तराईका धेरै क्षेत्रमा बिहान यातायात सेवा प्रभावित हुने भएको छ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा हवाई सेवा पनि प्रभावित हुन्छ ।  

एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हुने मौसमविद् झा बताउँछन् । 

हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुने उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्