site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाबाट दुई विधेयक पारित
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाबाट दुई विधेयक पारित भएका छन् । सभाको आइतबारको बैठकले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मति र ‘विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव राखे । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसअघि बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा प्रेम सुवाल, अशोककुमार चौधरी, किरणकुमार साह, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्र पौडेल, शिव नेपाली, सुमना श्रेष्ठ र अच्युत मैनालीले भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाई सो उपर हुने सजाय र अदालती प्रक्रियालाई पारदर्शी एवं सरलीकृत बनाउन संशोधन विधेयक ल्याउनुपरेको बताए ।

यस्तै ‘विधायन विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा विमला सुवेदी, सन्तोष परियार र ध्रुवबहादुर प्रधानले भाग लिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले नागरिक अधिकारलाई अझ सशक्त बनाउन तथा प्रक्रियालाई पारदर्शी र व्यावहारिक बनाउन सो विधेयक अघि बढाइएको स्पष्ट पारे ।

सभामुख देवराज घिमिरेले कानुनमन्त्री चौरसियाले जवाफ दिने क्रममा सो विधेयकमा समावेश गर्नेगरी सरकारका तर्फबाट स्वीकार गरेको संशोधन निर्णयार्थ प्रस्तुत गरी ती संशोधन स्वीकृत भएको घोषणा गरे ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्