site stats
बाह्रखरी :: Baahrakhari
खेल
योग र इभानालाई स्वर्ण

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र एभीएमकी इभाना थापा मगरले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा संयोग र महिलामा इभाना पहिलो भएका हुन् ।

खोल्चा पुखु खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा संयोगले एभीएमका सुजन गडाललाई ७–११, ११–४, ११–८, १०–१२ र ११–६ को सेटमा पराजित गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ललितपुर महानगरपालिका–११ को मुख्य प्रायोजन तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा इभानाले एभीएमकै वियंका राईलाई १०–१२, ११–८, १२–१० र ११–७ को सेटमा हराइन् ।

शंखमूलस्थित इलेभन स्टार क्लबमा प्रतियोगितामा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि, पुरुष भेट्रान सिंगल्सको ६० वर्षमाथि पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथि इखाछेंका राजेन्द्र बज्राचार्य र ४० वर्षमाथि काठमाडौंका उमेश मानन्धरले पहिलो स्थान हात पारे । वडा नम्बर ११ को यू–१६ मा सोयम महर्जन पहिलो भए ।

प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रुपैयाँ रहेको छ । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र सात हजार ५०० नगद पुरस्कार हात पारे । बाँकी चार स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले दुई हजार ५०० नगद पुरस्कार पाए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशका सदस्य–सचिव दीपक लामा, मुख्य प्रायोजक वडा नम्बर ११ का अध्यक्ष अरोजकुमार खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १५० खेलाडी सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्