site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभाबाट निर्णयार्थ पेस हुन सकेन विधेयक

काठमाडौं । गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ निर्णयार्थ पेस हुन सकेन । आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावउपर सांसदहरूले छलफल गरी गृहमन्त्रीले जवाफ समेत दिइसकेका थिए । तर, गणपूरक संख्या नपुगेको भन्दै प्रस्ताव निर्णयार्थ पेस हुन सकेन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेस गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गरेकी थिइन् । तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले बताए ।

सभामुख घिमिरेले भने, ‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाई सदस्य उपस्थिति हुनुपर्नेमा यो प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक संख्या अपुग भएको भनि माननीय श्री निशा डाँगीले प्रश्न उठाउनुभएकोले तीन मिनेट घण्टी बजाइ गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिन्छु ।’

सभामुख घिमिरेले गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले गणपूरक संख्या नपुगेको भन्दै कार्यसूचीबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गरे । प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्