site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

जननिर्वाचित पदाधिकारीले विधि र प्रक्रियाको बेवास्ता गरेर परिणाममा मात्र ध्यान केन्द्रित गर्न थाले भने अराजकता उत्पन्न हुन्छ । त्यस्तो अराजकता सम्बन्धित संस्था, त्यहाँका जनता र प्रतिनिधि स्वयंका निम्ति पनि प्रत्युत्पादक हुनेरहेछ भन्ने उदाहरण पछिल्लोपटक काठमाडौं महानगरपालिका हुनपुगेको छ ।

स्थानीय तहको निर्वाचनमा काठमाडौै महानगरलगायत केही सहरी क्षेत्रमा स्थापित राजनीतिक दलका उमेदवारलाई हराएर मतदाताले स्वतन्त्र व्यक्तिहरूलाई जिताएका थिए । तीमध्ये काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको प्रमुखमा विजयी भएकाहरू बढी चर्चित र विवादित हुन पुगे ।

निर्वाचित हुनेबित्तिकै कार्यशैलीका कारण उनीहरू चर्चाको केन्द्रमा स्थापित भएका थिए । तर, तिनको आकर्षण भने समयसँगै खस्कँदै जान लागेको देखिन्छ । विशेषगरी तिनले आफूलाई यही शासनको एउटा अवयव नठानी स्वायत्त एकाइको एकछत्र शासक ठान्न थालेपछि उनीहरूको सोच र शैलीमा प्रश्न उठेको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लोपटक काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूलाई प्रधानमन्त्रीले 'हराउन' खोजेको आरोप लगाउँदै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीप्रति सामाजिक सञ्जालमा आक्रोश प्रकट गरेपछि यो प्रकरण पुनः सतहमा आएको छ । नेपाल सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाएको प्रमुख शाहले कटाक्ष गरेका हुन् । 

सामाजिक सञ्जालमा निकै लोकप्रिय प्रमुख शाहले प्रायः आफ्ना गुनासा र आक्रोशहरू पनि सामाजिक सञ्जालबाटै सार्वजनिक गर्छन् । यसक्रममा उनले प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकालाई परेको अप्ठेरोको विषय पनि सामाजिक सञ्जालबाटै सार्वजनिक गरेको देखिन्छ । 

केही पहिले काठमाडौं महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमाथि अनियमितताको आरोपमा छानबिन गरिएको थियो । यही क्रममा प्रमुख प्रशासकीय अधिकृतलाई महानगरपालिकाले कामकाज गर्न रोकेको थियो । छानबिन प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । अर्थात्, छानबिनमा परेका प्रमुख प्रशासकीय अधिकृतको सरुवा पनि भएको छैन ।

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नेपाल सरकारले पठाएको व्यक्ति नियमअनुसार सो पदमा बहाल नै छन् । सम्भवतः यही कारणले निजामती कर्मचारी खटनपटन गर्ने तालुकवाला निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को अधिकृत खटाउन सकेन । 

पालिकाहरूमा नेपाल सरकारले आफ्ना कर्मचारीलाई नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने गरेको छ र पालिकाहरूको आर्थिक कारोबार मूलतः उनीहरूकै नियन्त्रणमा हुन्छ । काठमाडौं महानगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत नभएका कारण दुई महिनादेखि कर्मचारीको तलब रोकिएको छ । सम्भवतः यसले पनि प्रमुख शाह क्षुब्ध बनेका हुन् । 

काठमाडौं महानगरपालिका प्रमुख शाहको नियतमा उपप्रमुख सुनिता डङ्गोललगायत नेकपा ९एमाले०का नेताहरूले जस्तो सन्देह गर्नु सायद न्यायोचित हुँदैन । तर समस्याको प्रचलित व्यवस्था र विधिसम्मत समाधान खोज्नुको साटो प्रमुख शाहले अपनाउने गरेको सामाजिक सञ्जालमा हल्ला गरेर दबाब दिने अराजक  एवं असहिष्णु शैली भने  उचित र लोकतान्त्रिक होइन । 

बालेन लोकतान्त्रिक पद्धतिका कारण महानगरपालिकाका प्रमुख निर्वाचित भएका हुन् । यसैले उनले विधिको शासनको सम्मान पनि गर्नुपर्छ । काठमाडौं महानगरपालिकामा प्रमुख शाहलाई राजनीतिक दलबाट निर्वाचित प्रतिनिधिहरू खासै असहयोग गरेको पनि देखिँदैन । संघ वा प्रदेश सरकारसँग मतभेद भएमा महानगरपालिकाले त अदालतको ढोकासमेत घचघचाउन सक्छ ।

जनप्रतिनिधिहरूलाई विधिको शासनको सम्मान गर्न सिकाउने र सघाउने कर्तव्य कर्मचारीहरूको पनि हो । प्रमुख कार्यकारी अधिकृतसम्बन्धी अहिलेको विवादमा काठमाडौं महानगरपालिकाले यथाशीघ्र छानबिन प्रतिवेदन सार्वजनिक गरेर दोषी देखिएमा सम्बन्धित निकायमा लेखी पठाउने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल अर्को अधिकृत खटाउने गरे अहिलेको समस्या सधामान हुनेछ । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्