site stats
बाह्रखरी :: Baahrakhari
देश
सेनाको २२ सदस्यीय टोली म्यानमार प्रस्थान, भूकम्पका घाइतेको उपचारमा खटिने

काठमाडौं । मेडिकल राहत सामग्रीसहित नेपाली सेनाको २२ सदस्यीय एक टोली म्यानमार प्रस्थान गरेको छ । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपछि नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चारजना बन्दोबस्ती सहायता टिम र ६ जना 'क्रू मेम्बर'सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सीएन–२३५ सीएएसए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विभिन्न प्रकृतिका आवश्यक औषधि एवं उपकरणसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन्,” नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने सेनाले जनाएको छ ।

गत शुक्रबार थाइल्यान्डमा ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पले संरचनाहरू भत्किँदा मृत्यु हुनेको संख्या दुईहजार ७०० नाघेको छ । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्ने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्