site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षकले भने– एसईईको कपी जाँच गर्दैनौँ

काठमाडौं । गएको बुधबार (चैत २०)देखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका पनि परीक्षण नगर्ने भएका छन् । चैत २५ देखि शैक्षिक हडतालसँगै सामुदायिक विद्यालयका शिक्षकले कपी जाँचसहित कुनै पनि शैक्षिक गतिविधि नगर्ने घोषणा गरेका हुन् ।

नेपाल शिक्षक महासंघले आइतबार (चैत २४) विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल घोषणा गरेको छ । राहत शिक्षक संघका अध्यक्ष नवीनसिंह धामीले यो अवधिमा कुनै शैक्षिक गतिविधि नगर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हडताल भनेपछि पढाइ, उत्तरपुस्तिका जाँच केही पनि हुँदैन,” अध्यक्ष धामीले बाह्रखरीसित भने, “एसईईको नतिजा समयमै गर्नुपर्छ भने सरकार जवाफदेही हुनुपर्छ ।”

यही चैत १९ गते सकिएको एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तालिका छ ।

पटक–पटक छलफलका निम्ति बोलाउँदै सरकारले शिक्षकलाई अलमल्याउने काम मात्र गरेको भन्दै वार्तामा बसेर समय खेर नफाल्ने संघको अडान छ ।

“सरकारको नियत ठिक छ भने बर्खे अधिवेशन बोलाएर वा बजेट अधिवेशनकै समयमा शिक्षा ऐन टुंग्याउने गरी अघि बढोस्,” उनले भने, “हामीलाई सहमतिका बुँदा थप्न वार्तामा बस्नु छैन ।”

संसद् अधिवेशन नचलेको हालको अवस्थामा अध्यादेश वा विशेष अधिवेशनमार्फत शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षक पाँच दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्