site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकतन्त्रमाथि आक्रमणको जवाफ दिने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव

काठमाडौं । सत्तापक्षीय राजनीतिक दलहरूले लोकतन्त्रलाई थप सुदृढ गर्नेगरी सरकारको नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षीय राजनीतिक दलहरूको बैठक बसेको थियो । बैठकमा लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि भइरहेका आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विकास निर्माणका कामलाई प्रभावकारी, समयमा सकिने गरी उच्च प्राथमिकता गर्नुपर्ने सुझाव पनि आएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

युवा पुस्तामा आशा र विश्वास जगाउने गरी विभिन्न कार्यक्रम ल्याइनुपर्ने, अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक फजुल खर्च कटौती गर्ने र सरकारको कार्यदक्षता बढाउन पनि उनीहरूले सरकारलाई सुझाव दिएको ज्ञवालीले बताए । 

समग्रमा विगत वर्षको भन्दा ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा सत्तापक्षीय दलका नेताहरूको जोड दिएका थिए । 

ज्ञवालीले शिक्षकहरूको आन्दोलन र समस्या समाधानका लागि वार्ता सकारात्मक रूपमा अगाडि बढेको र बिहीबारदेखि सहज ढंगले पठनपाठन गर्नेगरी वातावरण निर्माण हुने विश्वास व्यक्त गरे । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्