site stats
बाह्रखरी :: Baahrakhari
कला
झुमा भन्छिन्– सांगीतिक करिअरको २५ वर्षमा अलिअलि चित्त बुझ्ने काम गरेँ 

काठमाडौं । गायिका झुमा लिम्बूले आफूले २५ वर्षपछि संगीतमा भनेजस्तो काम गर्न पाएको बताएकी छन् । यद्यपि, अझै पनि पूर्णरूपमा भने चित्त नबुझेको उनको भनाइ छ । 

सांगीतिक करिअरको २५ वर्षसम्म आफूले मनले खाएको काम गर्न कुर्नु परेको उनले बताइन् । चलचित्र ‘जार’मा आफूले गरेको काममा केही चित्त बुझेको उनको भनाइ छ ।  

‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको उनले बताएकी छन् । “म्युजिक गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो जार,” केही दिनअगाडि काठमाडौंमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा झुमाले भनिन्, “मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि नाइँ भन्ने कुरै आएन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२५ वर्षपछि ‘जार’मा काम गर्दा पनि पूरै चित्त भने नबुझेको उनले बताइन् । “पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,” झुमाले अगाडि थपिन्, “जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ ।”

‘जार’का पात्रहरू लिम्बू गाउँमा पुगेपछि ती पात्रहरूको यात्रामा प्रयोग हुने लिम्बू समुदायको संगीतमा आफूले काम गरेको उनले प्रष्ट पारेकी छन् । पूर्वी पहाडी जिल्लामा बस्ने लिम्बू समुदायको कथा सिनेमामा छ । त्यसैले लिम्बू समुदायमा रहेको लोक भाका ‘जार’मा प्रयोग भएको छ । यो लोक भाकामा झुमाले काम गरेकी छन् । सिनेमामा झुमासँगै गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ भोलिबाट देशभर प्रदर्शनमा आउँदैछ । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको छ । 

‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्