site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित सातै प्रदेशमा वर्षाको सम्भावना आजभन्दा भोलि बढी
फाइल तस्बिर ।

काठमाडौं । केही दिनयता देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । हरेक दिन सबै स्थानमा पानी नपरे पनि देशभर सुक्खा भएको छैन । अझै कम्तीमा तीन यस्तै स्थिति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आउँदो सोमबार (जेठ ५)सम्म सातै प्रदेशमा वर्षाको सम्भावना छ । तर, सातै प्रदेशका सबै भूभागमा पानी पर्ने सम्भावना होइन । शनिबार (जेठ ३) पनि केही स्थानमा वर्षा भएको छ ।

“कर्णाली र सुदूरपश्चिम प्रदेशभन्दा पूर्वतिर वर्षाको सम्भावना धेरै छ,” महाशाखाका मौसमविद् डेविड ढकालले बाह्रखरीसित भने, “सातै प्रदेशका थोरै क्षेत्रमा वर्षाको सम्भावना हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो अवधिमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ । केही दिनयता हल्कादेखि मध्यम वर्षा नै भइरहेको छ । हावाहुरी पनि चलेको छ । प्रिमनसुनको मौसम यस्तै हुने मौसमविद्को भनाइ छ ।

देशको राजधानी एवं वाग्मती प्रदेशको काठमाडौंमा समेत पछिल्ला दिन मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । शनिबार काठमाडौंका पनि सुन्दरीजल, साँखु, धाप ड्यामसहित केही स्थानमा वर्षा भयो ।

देशका कतिपय स्थानमा शनिबारभन्दा आइतबार (जेठ ४) वर्षाको सम्भावना बढी रहेको उनले जानकारी दिए । काठमाडौंसहित सातै प्रदेशका केही स्थानमा तुलनात्मक रूपमा आइतबार वर्षाको सम्भावना बढी रहेको उनले प्रस्ट पारे ।

“काठमाडौंमा वर्षा हुन्छ भनेर बुझ्दा सबै ठाउँमा पानी नपर्न सक्छ । वर्षा सबै ठाउँमा एकनासको हुने भन्ने हुँदैन,” मौसमविद् ढकालले भने, “कुनै ठाउँमा नपर्ने र कहीँ बढी वा कम वर्षा हुनसक्छ ।”

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावा (पानीको कणसहितको हावा) समेतको प्रभावले वर्षा भइरहेको उनले बताए ।

“स्थानीय र पश्चिमी वायुलाई बंगालको खाडी र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावाले सपोर्ट गरेको छ,” उनले भने ।

देशमा वर्षाको सम्भावना आइतबार र सोमबार ‘उस्तैउस्तै’ रहेको उनले जानकारी दिए । वर्षासँगै तापक्रममा थोरै गिरावट छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्