site stats
बाह्रखरी :: Baahrakhari
देश
न्यायाधीश पाण्डेका आफन्त वकिल भेटिएपछि रवि र छविको निवेदन 'हेर्न नमिल्ने'मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन आज पनि 'हेर्न नमिल्ने'मा परेको छ । 

आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेकोमा पोखरेलले पहिले नै रविका तर्फबाट वकालत गरेका कारण 'हेर्न नमिल्ने'मा परेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

'हेर्न नमिल्ने' इजलासले आइतबार नै हेर्न मिल्ने न्यायाधीशकोमा पर्ने गरी प्रक्रिया अघि बढाउन सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको थियो । उक्त आदेशका आधारमा हेर्न मिल्ने न्यायाधीशहरूबाट गोला टिप्ने व्यवस्था मिलाउने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका थिए । 

त्यहीअनुसार सोमबार गोला टिप्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको थियो । तर, न्यायाधीश पाण्डेका आफन्त वकिल पुष्पराज पाण्डेले पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा वकालत गरेको पाइएपछि सोमबार पनि 'हेर्न नमिल्ने'मा परेको हो ।

रवि लामिछानेका वकिल डा. नारायण कँडेलका अनुसार अब सर्वोच्चमा रविको मुद्दा 'हेर्न नमिल्ने' न्यायाधीश सुनिश्चित भइसकेकाले अर्को पेसीपछि सुनुवाइ अघि बढ्ने विश्वास व्यक्त गरे । 

न्यायाधीशहरू हरिप्रसाद फुयाँल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले मुद्दा 'हेर्न नमिल्ने' भनिएकोमा न्यायाधीश नित्यानन्द पाण्डे पनि थपिएका छन् ।
 
“हामीले आज 'हेर्न नमिल्ने' भएपछि 'एनालाइसिस' गरेको छौँ, अब 'हेर्न नमिल्ने' न्यायाधीश यति नै हुनुहुन्छ होला,” रविका वकिल डा. कँडेलले बाह्रखरीसँग भने, “त्यसैले अबको पेसीमा सुनुवाइ अघि बढ्ने विश्वास लिएका छौँ । 

सुप्रिम सहकारी ठगीविरुद्ध रवि र छवि दुवैले उच्च अदालत तुल्सीपुरको आदेशविरुद्ध निवेदन हालेका थिए । रविका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले अघिल्लो हप्ताको मंगलबार नै बन्दी प्रत्यक्षीकरणको निवेदन हालेकी थिइन् ।
 
तर, उक्त निवेदनमा गत हप्ताभर नै पालो नआएर आइतबार पनि 'हेर्न नमिल्ने' इजलासमा परेपछि हेर्न मिल्ने न्यायाधीशको इजलासमा पर्ने गरी प्रक्रिया अघि बढाउने आदेश भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्