
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगमा उपविजेता बन्दै शीर्ष डिभिजनमा बढुवा हुँदै ऐतिहासिक सफलता हात पारेको श्री टोखा भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ सहयोग र अभ्यासका लागि भूतखेल मैदान प्रदान गर्ने घोषणा गरेको छ । टोखा भगवती क्लब गत शुक्रबार सम्पन्न लिगमा शीर्ष डिभिजनमा बढुवा भएको थियो ।
सोमबार टोखा नगरपालिकामा आयोजित विशेष सम्मान समारोहका क्रममा नगर प्रमुख प्रकाश अधिकारीले क्लबप्रति आफ्नो विशेष कदर व्यक्त गर्दै एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे ।
क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूलाई सम्मान गर्दै मेयर अधिकारीले भगवती क्लबले टोखा नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा खेलकुदमार्फत चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा क्लबलाई आवश्यक पर्ने सहयोग प्रदान गर्न नगरपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख मुरारी तामाङले क्लबको ऐतिहासिक प्रगतिप्रति खुसी व्यक्त गर्दै क्लबलाई टोखा नगरपालिकाअन्तर्गत रहेको भूतखेल मैदान अभ्यास र एकेडेमी सञ्चालनको लागि उपलब्ध गराउने घोषणा गरे ।
टोखा भगवती क्लबले जेठ ९ गते सम्पन्न अन्तिम खेलपछिको नतिजामा १३ खेलबाट सात जित, पाँच बराबरी र एक हारसहित कुल २६ अंक बटुलेको थियो । यस प्रदर्शनका आधारमा क्लब 'बी' डिभिजनको उपविजेता बन्दै 'ए' डिभिजन लिगमा बढुवा हुन सफल भएको हो ।
उक्त सम्मान कार्यक्रममा नगरपालिकाले क्लबका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई खेल पोसाक र मायाको चिनो प्रदान गर्दै थप उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको थियो ।
टोखा नगरपालिकाको यो निर्णयले आगामी दिनमा क्लबलाई अझ व्यावसायिक र प्रतिस्पर्धात्मक रूपमा अघि बढ्न टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै, यसले स्थानीय तह र खेलकुद संघ, संस्थाबीच सहकार्यको उत्कृष्ट उदाहरण समेत प्रस्तुत गरेको छ ।