site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पदाधिकारी बैठक मेरा बारेमा मात्र केन्द्रित भयो भन्दा अचम्म लाग्यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आफ्ना बारेमा मात्र केन्द्रित रहेको भन्ने सुन्दा अचम्म लागेको बताएका छन् । मंगलबार (जेठ १३) विराटनगरमा कांग्रेसको शुभेच्छुक संस्था नेपाल नाई संघको राष्ट्रिय परिषद्को उद्घाटन गर्दै उनले उक्त बैठकमा चर्चा गरिएका विषयमा प्रश्न उठाएका हुन् । 

कोइरालले भने, “मलाई लागेको थियो, सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला, तर कुरा त मेरै बारेमा मात्रै भएछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशको सर्वोच्च पदमा बसेको व्यक्तिले गैरराजनीति र मुठभेडको भाषा बोल्दा कांग्रेसले सचेत गराउनुपर्नेमा उनले जोड दिए । तर, यसबारेमा आधिकारिक रूपमा कहीँ कतै नबोलिएकाले छक्क परेको उनको भनाइ थियो ।

प्रधानमन्त्री एउटा व्यक्ति मात्र नभएर सम्मानित संस्था पनि भएको उनले बताए । त्यो पदमा बस्ने व्यक्तिले बोल्ने हरेक विषयको अर्थ रहने उनले उल्लेख गरे ।

‘जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिँदा कांग्रेस मौन बस्ने बाध्यता किन आयो ?’ भन्दै उनले प्रश्न गरे । “के बाध्यता आइपर्‍यो त्यस्तो, प्रधानमन्त्रीले जेजे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?,” उनले प्रश्न गरे ।

प्रधानमन्त्रीको भनाइप्रति आधिकारिक रूपमा प्रश्न नउठाइएको भन्दै उनले पछिल्ला दिनमा कांग्रेसले मौलिकता बिर्संदै गएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्