
नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्मित वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी यादव ढकालले जानकारी दिए ।
चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार (जेठ १५) रातिको वर्षाले बगाएपछि हाल वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ । यति बेला चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)अन्तर्गत पर्ने चोरमारा पुल गएको वैशाख २९ गते र दुम्कीवास पुल पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । रासस